२०८३ साउन २१ गते बिहीबार

पोखरा नाटकघरमा पाँचौं विद्यालयस्तरीय नाटक महोत्सव सुरु

पोखरा नाटकघरमा पाँचौं विद्यालयस्तरीय नाटक महोत्सव सुरु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ २७ गते बुधबार ०६:५९

पोखराकै पुरानो क्याम्पस पृथ्वीनारायण क्याम्पसका संस्थापक क्याम्पस प्रमुख तथा शिक्षाविद् जर्ज जोन सम्झन्छन्, ‘खुला आकासमूनि पढाइ भइरहेको पृथ्वीनारायण क्याम्पसको छानो नाटक देखाएरै संकलित रकमबाटै बनाइएको थियो ।’

असोज १२ गतेसम्म चल्ने नाटकमा १५ नाटक मञ्चन हुने

पोखरा

पोखरामा बुधबारदेखि पाँचौं विद्यालयस्तरी नाटक महोत्सव सुरु भएको छ ।

पोखरा थियटरले बर्सेनि आयोजना गर्दै आएको महोत्सव असोज १२ गतेसम्म चल्नेछ ।

महोत्सव अवधिभर पोखरा महानगरभरिका १४ र एउटा काठमाडौंको आमन्त्रित गरी १५ वटा नाटक देखाइने महोत्सवका संयोजक परिवर्तनले जानकारी दिए ।

महोत्सवको पहिलो दिन हिलप्वाइन्ट माविको शिलान्यास नाटक देखाइएको थियो ।

भीमनिधि तिवारीले लेखेको उक्त नाटक रमेश तिमिल्सिनाले निर्देशन गरेका हुन् ।

निर्देशक तिमिल्सिनाले विद्यालय तहका विद्यार्थीलाई लक्ष्य राखी गरिने यस्ता महोत्सवले बालबालिकालाई नाटक बुझ्न सहयोग पुग्ने बताए ।

नाटक महोत्सवको उद्घाटन गर्दै शिक्षाविद् जर्ज जोनले आफू पनि ८० वर्षअघि नाटक खेलेको स्मरण गरे ।

पोखरा पृथ्वीनारायण क्याम्पसको छानोसमेत नाटक देखाएर हालेको सुनाउँदै नाटकको महत्व धेरै रहेको सुनाए ।

पोखराकै पुरानो क्याम्पस पृथ्वीनारायण क्याम्पसका संस्थापक क्याम्पस प्रमुख तथा शिक्षाविद् जर्ज जोन सम्झन्छन्, ‘खुला आकासमूनि पढाइ भइरहेको पृथ्वीनारायण क्याम्पसको छानो नाटक देखाएरै संकलित रकमबाटै बनाइएको थियो ।’

पोखरेली वरिष्ठ रंगकर्मी विद्यार्थी लक्षित यस्ता महोत्सवले विद्यार्थी जीवनबाटै नाटकको महत्व दर्शाउन महत्वपूर्ण निभाउने बताउँछन् ।

आजका बालबालिका नै भोलि गएर सफल कलाकार वा दर्शक हुने भएकाले विद्यार्थी जीवनबाटै नाटक सिकाउनुपर्ने उनीहरुको भनाइ छ ।

‘अहिलेको जमानामा पुराना कलाकार, दर्शक सधैं खोजेर पाइँदैन, नाटकको विकास गर्ने हो भने उत्पादन गर्ने नयाँ नै हो,’ वरिष्ठ कलाकार प्रकाश घिमिरे सुनिन्छन्, ‘विद्यालय ओरियन्टेड यस्ता महोत्सवले कलाकार पनि विद्यार्थी र दर्शक पनि विद्यार्थी तान्छ । यसको मतलब रंगमञ्चप्रति नयाँ पुस्ताको उदय हुन्छ ।’

कलाकार प्रमिला तुलाचन ताम्राकार लामो समय रोकिएको पोखरेली रंगमञ्चलाई एकै ठाउँमा जोड्न यस्ता महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।

पोखरा थियटरका संस्थापक सदस्य तथा रंगकर्मी दिल गुरुङ पोखरेली रंगमञ्चलाई ब्युँताउन विद्यालय महोत्सव गर्दै आएको सुनाए ।

उनले यस्ता महोत्सवले पोखरामा फेरि रंगमञ्चको माहोल फर्किनेमात्रै नभएर नयाँ रंगकर्मी उत्पादन हुनेसमेत विश्वास राखे ।

थियटरले पहिलोपटक २०७६ मा महानगरस्तरीय विद्यालय नाटक महोत्सव गरेको थियो ।

अर्को वर्षदेखि लगातार ३ वर्ष प्रदेशस्तरीय विद्यालय नाटक महोत्सव गरेर फेरि पोखरा महानगरस्तरीय विद्यालय नाटक महोत्सव गरेको हो ।

‘पहिले खुला प्रतिस्पर्धाबाट छानेर नाटक देखाउँथ्यौं । तर, अहिले केही फरक गरौं भनेर विद्यालयलाई हामीले नै नाटक दिएर प्रस्तुत गर्न लगाएका छौं,’ महोत्सवका संयोजक परिवर्तनले भने ।

महोत्सवमा भूत, भोला, कोही किन बर्बाद होस्, अँध्यारामा बाँच्नेहरु, कीर्तिपुरको युद्धमा, मुनामदन, पाठशाला, आँधीको मनोरम नृत्य, हिउँजस्ती गोरी, कर्मको फल, यति, बिर्सन नसकिने मान्छे र मसान नाटक देखाइनेछ ।

त्यस्तै नाटकमा काठमाडौं प्रज्ञा कुञ्चको ‘खेल्नेबेला खेल्छौं, पढ्नेबेला पढ्छौं’ अतिथि नाटकका रुपमा देखाइने संयोजक परिवर्तनले जानकारी दिए ।

प्रकाशित मिति २०८० भदौ २७ गते बुधबार ०६:५९
हजुरको प्रतिक्रिया