पोखरा
लामाचौर भलिबल कप प्रतियोगिताको उपाधि डिफेन्डिङ च्याम्यिन नेपाल पुलिस क्लबले हात पारेको छ ।
सोमबार इन्द्रराज्यलक्ष्मी माविको खेल मैदानमा भएको फाइनल खेलमा चन्द्रागिरी न्यु डायमण्ड युथ स्पोर्टस क्लबलाई ३–१ को सेटमा पराजित गर्दैै पुलिसले उपाधि रक्षा गरेको हो ।
गत बर्ष भोगेको पराजयको बदला लिएर च्याम्यिन बन्ने दाउमा मैदान छिरेका न्यु डायमण्डका खेलाडीले पहिलो सेटमा २५–१८ को जित निकाले । त्यसपछिका लगातार ३ सेट पोल्टामा पार्दै पुलिसले यसपटक पनि उपाधि जितेको हो ।
दोस्रो सेट २५–२२, तेस्रो सेट २५–१४ र चौथो सेटमा २५–२० को जित निकाल्यो ।
पुलिसले उपाधिसँगै १ लाख ५० हजार १११ रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । न्यु डायमण्डले १ लाख १११ रुपैयाँमा चित्त बुझाएको छ ।
राउण्ड रोबिङको आधारमा खेलाइएको प्रतियोगितामा पुलिसले सहभागी अन्य ३ टोलीलाई पराजित गर्दै लिग च्याम्पियन बनेको थियो । न्यु डायमण्डले २ खेलमा जित र १ खेलमा हार व्यहोरेको थियो ।
लिग चरणमा पनि पुलिससँग पराजित भएको डायमण्डले लिगको उपविजेता भएर उसैसँग फाइनल भिडन्त गरेको हो । तर, सफल हुन सकेन ।
२ खेलमा हार र १ खेलमा जित निकालेको एपीएफले तेस्रो हुँदै ५० हजार १११ रुपैयाँ पाएको छ । सहभागी अर्को टोली एभरेष्ट भलिबल क्बलले भने कुनै पनि खेलमा जीत निकाल्न सकेन ।
पुरुषतर्फको फाइनल खेल भने २ सेट भएपछि रोकिएको छ । गण्डकी प्रदेश र नेपाल पुलिस क्बलबिच भएको खेल अध्याँरो भएपछि रोकिएको हो । मंगलबार विहान ९ बजे फाइनल खेल हुने आयोजकले जानकारी दिएको छ ।
फाइनलका लागि सोमबार भएको पहिलो सेटमा विभागीय टोली पुलिसले २५–१९ को जित निकालेको थियो । दर्शकको भरपूर साथ पाएको गण्डकीले दोस्रो सेटमा पुनरागमन गर्दै २५–२२ को जित हासिल गरेको हो ।
सोमबार नै भएको लिगको अन्तिम खेलमा गण्डकीले नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा हराउँदै लिग विजेता बन्दै पुलिससँगको भिडन्त पक्का गरेको हो ।
पुलिस र गण्डकीसँगै पुरुषतर्फ सशस्त्र प्रहरी बलको एफीएफ, मणिमुकुन्द भलिबल क्लब र गल्कोट स्पोर्टस क्लब सहभागी थिए । गल्कोट स्पोर्टसले भने जितविहीन भन्दै घर फर्कनुप¥यो ।
अंक तालिकामा एपीएफ तेस्रो हुँदै ५० हजार १११ रुपैयाँ पक्का गरेको छ । मंगलबार हुने फाइनल खेलको विजेताले १ लाख ५० हजार १११ रुपैयाँ र १ लाख १११ रुपैयाँ प्राप्त गर्नेछ ।
नवआदर्श सामुदायिक विकास समाजले आयोजना गरेको तीज महोत्सवको अवसरमा आयोजित भलिबल प्रतियोगिता शुक्रबारदेखि सुरु भएको हो ।
प्रकाशित मिति २०८० असोज १ गते सोमबार ०७:४०




