९ सय प्रतिनिधि सहभागी रहने
पोखरा
असोज १५ र १६ गते पोखरामा हुने नेकपा एमाले गण्डकी प्रदेश कमिटीको प्रथम अधिबेशनमा ९ सय प्रतिनिधि सहभागी हुने भएका छन् । १५ गते अमरसिंह चौरमा उद्घाटनपश्चात २ दिन चल्ने अधिवेशले नयाँ नेतृत्व चयन गर्ने छ ।
अधिवेशको तयारी गरिरहेको शन प्रचार प्रसार समितिले मंगलबार लोगो सार्वजनिक गरेको छ । लोगो सार्वजनिक गर्दै नेकपा एमाले सचिव तथा गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्टले अधिवेशन ऐतिहासिक हुने र भरसक सहमतिकै आधारमा हुने बताएका छन् । असोज ९ गते अधिवेशनको प्रतिनिधि चयन हुने एमाले गण्डकीका अध्यक्ष नवराज शर्माले बताए । पहिलो पटक हुन लागेको एमाले गण्डकीको नेतृत्व हात पार्न नेताहरुले कसरत गरिरहेका छन् ।
गण्डकी प्रदेशका विशेष गरी २०७४ सालयता एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी गुटको प्रतिष्ठाको लडाईँ चल्दै आएको छ । यो अधिवेशनमा पनि यो दुई समूहकै टक्कर हुने पक्काजस्तै देखिएको छ ।
अधिवेशनमा अहिलेका तदर्थ समितिका पदाधिकारीदेखि धेरैजसो केन्द्रीय सदस्यहरुले कसरत गरिरहेका छन् । तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ केन्द्रीय सांसद र खगराज अधिकारी प्रदेश झरेर मुख्यमन्त्री हुँदै राजनीतिमा पनि सक्रिय हुन थालेपछि गुट परिवर्तनसमेत गरिरहेका छन् ।
लुम्विनी प्रदेशमा चुनावै भएर नेतृत्व चयन भएसँगै कास्कीमा पनि त्यो हुन सक्ने र अन्तिममा पृथ्वीसुब्बा तथा खगराज समूहकै बीच प्रतिस्पर्धा हुने एक पदाधिकारीले बताए । तर, गण्डकी प्रदेश इन्चार्जसमेत रहेका सचिव गोकर्ण विष्टले प्यानलै प्रतिस्पर्धा नहुने र कसैले प्यानलै चुनावमा गएर नाम बाँड्ने काम भए उम्मेदवारी नै खारेज हुने दाबी गरे ।
९ गते प्रतिनिधि चयन सकिएसँगै चुनावमा कुन पक्षको पल्लाभारी हुन्छ भन्ने एकीन सकिने भएकाले आकांक्षीहरु पर्ख र हेरको अवस्थामा छन् । केन्द्रीय राजनीतिको चर्चा गर्दै सचिव विष्टले अहिलेको गठबन्धन लामो नजाने र कोशी प्रदेशलाई मध्यावधि चुनावमा जानबाट रोक्न सबैजसो दलहरुसँग छलफल भइरहेको बताए ।
यसैबीच एमाले गण्डकीले ‘नेपालको संविधान निर्माणमा सुबासचन्द्र नेम्बाङ’ बिषयक विचार गोष्ठी पनि गरेको छ । गोष्ठीमा एमाले, कांग्रेस र माओवादीका नेतासमेत सहभागी भएर नेम्वाङको योगदानको चर्चा गरे ।
एमाले उपाध्यक्ष अस्टलक्ष्मी शाक्यले सुवास नेम्बाङको सबैलाई मिलाउन सक्ने खुबीका कारण नै तत्कालिन अबस्थामा संविधान जारी हुन सकेको बताइन् ।




