पोखरा
पोखराको नदीपुरमा क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ । पोखरा भलिबल प्रशिक्षण केन्द्रले प्रतियोगिताको आयोजना गरेको हो ।
असोज ९ देखि १३ गतेसम्म नदीपुरस्थित छन्त्याल समाजको खेल मैदानमा प्रतियोगिता सञ्चालन हुनेछ ।
पुरुषतर्फ १५ बढी समूह सहभागी हुनेछन् । सशस्त्र प्रहरी बलको एपीएफ क्लब, नेपाल पुलिस क्बल, किंग्स क्लब, मणिमकुन्द भलिबल क्लब, गल्कोट स्पोर्टस क्लब, जिएम क्लब लगायत स्थानीय क्लबले सहभागी भएर प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक मनोज खड्काले जानकारी दिए ।
विजेता पुरुष समूहले १ लाख ११ हजार १११ रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले ७० हजार ७७० रुपैयाँ प्राप्त गर्ने खड्काले जानकारी दिए ।
महिलातर्फ स्थानीय १० क्लबले सहभागिता जनाउने आयोजकको अनुमान छ । विजेताले ४५ हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ । उपविजेता ३० हजार रुपैयाँले पुरस्कृत हुनेछ ।
पुरुषतर्फ सहभागी समूहले ३ जनासम्म राष्ट्रिय खेलाडी समावेश गर्न पाउनेछ । महिलातर्फ समूहमा २ जना राष्ट्रिय खेलाडी खेल्न पाउनेछन् ।
गत संस्करणको उपाधि एपीएफले जितेको हो । महिलातर्फ नेपाल पुलिस क्बल च्याम्यिन बन्दा पुन क्लब लामाचौर उपविजेता बनेको थियो ।
प्रकाशित मिति २०८० असोज ५ गते शुक्रबार ०६:१५




