२०८३ साउन २१ गते बिहीबार

जाँचबुझ आयोगले बुझायो यती जहाज दुर्घटनाको प्रतिवेदन

जाँचबुझ आयोगले बुझायो यती जहाज दुर्घटनाको प्रतिवेदन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असोज ५ गते शुक्रबार ०८:१०

प्रतिवेदन अझै ६० दिन गोप्य नै राखिने छ

पोखरा

१ माघ २०७९ का दिन काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको ९एन–एएनसी जहाज पोखरामा दुर्घटनामा परेपछि गठित जाँच आयोगले बिहीबार फाइनल प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई बुझाएको छ ।

मन्त्रालय र आयोग दुवैले यो प्रतिवेदन गोप्य राखेका छन् । मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीका अनुसार यो प्रतिवेदन अझै ६० दिन गोप्य नै राखिने भएको छ । त्यस अवधिमा सरोकारवाला निकायमा यो प्रतिवेदनको मस्यौदा पठाइने र प्रतिक्रिया लिइने छ । यो अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड हो । त्यसपछि भने यो प्रतिवेदन सम्बन्धित निकाय तथा सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गरिने छ ।

यसअघि आयोगले फागुन पहिलो साता दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको थियो । जसमा मानवीय त्रुटि मुख्य कारण रहेको निष्कर्ष निकाल्दै थप अध्ययन गर्ने बताएको थियो ।

जाँचबुझ आयोगका संयोजक नागेन्द्र घिमिरेले प्रारम्भिक प्रतिवेदन ककपिट भ्वाइस रेकर्डरका आधारमा निकालिएको र फाइनल प्रतिवेदनमा भने अन्य विभिन्न पक्षको समेत गहन अध्ययन गरिएको जानकारी दिए ।

प्रारम्भिक प्रतिवेदनपछि दुर्घटनाको भग्नावशेषबाट ३ सय किलो तौलका विभिन्न उपकरण फ्रान्सको ल्याबमै पुर्‍याएर अध्ययन गरिएको भन्दै उनले त्यसले दुर्घटनाको कारण यकिन गर्न सहयोग गरेको घिमिरेले बताए ।

१ माघ २०७९ का दिन पोखरामा भएको जहाज दुर्घटनामा काठमाडौंबाट ककपिटमा प्रशिक्षक पाइलट कमल केसी र क्याप्टेन अन्जु खतिवडा थिए । जहाजको कमाण्ड भने क्याप्टेन खतिवडासँग थियो । दुर्घटनाका बेला जहाज धावनमार्गको बेस लेगमा थियो । अर्थात् जहाज मोड्नुपर्ने अवस्थामा थियो ।

त्यसबेला जहाजका दुवै इन्जिनका प्रोपेलरहरु फेदरमा गएको देखिएको थियो । त्यस अवस्थामा जहाज अगाडि बढ्न सक्दैन । जसले गर्दा जहाज भुँइमा झरेको थियो । यो अवस्था कसरी आयो भन्नेबारे विस्तृत प्रतिवेदनमा उल्लेख भएको बताइएको छ । सो दिन उही चालक दलका सदस्यको यो तेस्रो उडान थियो । जहाज भीएफआर प्रणालीबाट अवतरण गरिरहेको थियो ।

दुर्घटनामा परि चालक दलका सदस्यसहित ७२ जनाको निधन भएको थियो । यो नेपालको आन्तरिक हवाई उडानको इतिहासमै सबैभन्दा विनासकारी दुर्घटना हो ।

प्रकाशित मिति २०८० असोज ५ गते शुक्रबार ०८:१०
हजुरको प्रतिक्रिया