आक्रमण गर्नेलाई कारबाही गर्ने गृहमन्त्रीको प्रतिबद्धता
पोखरा
डाक्टरमाथि एकपछि अर्को आक्रामण हुने शृंखलामा सोमबार पोखरा पनि जोडिएको छ । उपचारका क्रममा विरामीको मृत्यु भएपछि डाक्टर अनिल शाहमाथि हातपात भएको विषयले मणिपाल तनावग्रस्तमात्रै बनेन, देशैभरि तरंग ल्याएको छ ।
उपचारका क्रममा विरामीको मृत्यु र डाक्टरमाथि हातपातको विषयले २ दिन मणिपाल मेडिकल कलेज तनाबमै रह्यो भने पोखराका सबै स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवा ठप्प बने । काठमाडौंमा चिकित्सकहरुले विरोध प्रदर्शनै गरे । मणिपालको घटनाले देशैभरि स्वास्थ्यकर्मीको सुरक्षाको बहसलाई सतहमा ल्याएको छ भने स्वास्थ्यसंँग सम्बन्धित संघसंस्थाले आपत्ति जनाउँदै विज्ञप्ति जारी गरिरहेका छन् ।
सोमबारदेखि उत्पन्न तनाब साम्य पार्न प्रयासरत जिल्ला प्रशासन, प्रहरी, अस्पताल व्यवस्थापन र पीडित पक्षबीचको दुई चरणमा वार्ता भए पनि पीडित र अस्पताल व्यवस्थापनको आआफ्नो अडानका कारण टुंगोमा पुग्न सकेन । सिंगो चिकित्सा क्षेत्रलाई अशान्त बनाउने गरी पछिल्लो समय डाक्टरमाथि हमला भइरहेका छन् । आइतबारमात्र लमजुङ जिल्ला अस्पतालमा वेसीसहर नगरपालिका वडा नम्बर ७ का अध्यक्ष ऋषि बस्नेतले डाक्टरलाई मुक्का प्रहार गरेको भोलिपल्ट पोखरा अर्को घटना घटेको हो । डाक्टरमाथि आक्रमणको घटना केही समयअघि बुटबल, बिराटनगर, हेटौडा, चितवन, पाटन अस्पताल काठमाडौंलगायतमा पनि घटेको थियो ।
डाक्टरमाथि आक्रमणको आरोपमा सोमबार नै पोखरा–५ का २७ वर्षीय विनय गुरुङ पक्राउ परिसकेका छन् भने प्रहरीले नियन्त्रणमा लिएका डा. दिनेश विक भने छुटिसकेका छन् । पक्राउ परेका गुरुङलाई स्वास्थ्यकर्मी तथा स्वासथ्य संस्था सुरक्षा सम्बन्धी ऐेन बमोजिम मुद्धा अगाडि बढाइएको छ ।
आक्रोसित आफन्त तथा तिनका शुभचिन्तक र चिकित्सकबीच बोटल, ढुंगा हानाहानदेखि तोडफोड हुँदै घटना अस्पतालको सेवा अवरुद्ध गर्दै आन्दोलनका कार्यक्रममसम्म आइपुगेको छ । विरामीका आफन्तले डाक्टरकोे लापरबाहीले मृत्यु भएको आरोप लगाउँदै आइरहेका छन् ।
अस्पतालमा उपचारमा संलग्न डाक्टरहरुले भने विरामी गम्भीर अवस्थामा आइपुगेको र मेडिकलको भाषामा विरामीको मृत्युको कारण ‘सेफ्टिक सक’ भएको बताइरहेका छन् । उपचाररत डाक्टरहरुकै भनाइलाई आत्मसाथ गर्दै मणिपाल कलेज अफ मेडिकल साइसेन्सले पनि विरामी नै गम्भीर अवस्थामा आइपुगेको र डाक्टरले कुनै त्रुटि नगरेको बताएको छ । मणिपालमा तनाब सिर्जना भएपछि प्रहरीले ओंठ नै फुट्ने गरी हानेको डा. दिनेश विकले बताएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका इन्स्पेक्टर मदन श्रेष्ठले आक्रोसित भीडमा गएका डाक्टरलाई साफ पारेर चुटेको बताएपछि चिकित्सकहरु झनै सशंकित भनेका छन् ।

सेवा भावले उपचार गरिरहँदा कुनबेला पिटाइ खानुपर्छ भन्ने ठेगान नभएको चिन्ता अस्पतालका डाक्टरहरुको छ । डाक्टरहरु खुलेर भिडियोमा बोल्न समेत सशंकित बने । अस्पताल प्रशासन र पीडितबीच आआफ्नै आडानले मंगलबारको वार्ता असफल भएपछि बुधबार फेरि वार्ता गर्ने प्रमुख जिल्ला अधिकारी वासुददेव घिमिरेले पब्लिक टिभीलाई जानकारी दिए ।
पीडितले पक्राउ परेका व्यक्तिको रिहाइ हुनुपर्ने र डाक्टरलाई कारबाहीको माग गरिरहेका छन् भने डाक्टरहरुले आक्रमणकारीमाथि कारबाही हुनेपर्ने बताइरहेका छन् । एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल गण्डकी प्रदेश अध्यक्ष गिरिधारी शर्माले डाक्टरमाथि भइरहेको आक्रामणले सिंगो मेडिकल क्षेत्रलाई सशंकित बनाइरहेको बताए ।
त्यसो त आन्दोलनरत डाक्टरहरुसँग काठमाडौंमा मंगलबारको छलफलमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आक्रमण गर्नेमाथि कारबाही गर्ने प्रतिवद्धता जनाइसकेका छन् ।
प्रकाशित मिति २०८० असोज ९ गते मंगलबार ०७:३३




