पोखरा
कुनै बेला थियो, पोखरामा ब्याण्ड खुल्ने निकै लहर ।
५० को दशकमा पोखरामा ब्याण्डहरु मात्रै खुलेनन् रक र पप संगीतलाई जुरुक्कै उचाले पनि ।
नेपथ्य, लेकाली, देउराली, कन्दरा, डि–मर्चा, परिवेश लगायतका ब्याण्ड पोखराबाट उदाएर देशभर छाए । लोकपप फ्लेबरमा त पोखरेली ब्याण्डको एकछत्र राज थियो नै ।
त्यो सांगीतिक माहोल अहिले शून्यप्राय छ । पोखरेली ब्याण्डहरु छिन्नभिन्नजस्तै छन् । खुलेका नयाँ ब्याण्डले पनि उतिसारो माहोल जमाउन सकेनन् ।
उबेला ब्याण्डहरुले बनाएको माहोल फर्काउन पोखरा सांगीतिक कलाकार संघ नेपालले ‘इन्टर कलेज ब्याण्ड कम्पिटिसन’ गर्ने भएको छ ।
पोखराको प्रदर्शनी केन्द्रमा असोज १२ र १३ गते प्रतिस्पर्धा हुदैछ । देशभरका कलेजमा रहेका सांगीतिक ब्यान्डले प्रतिस्पर्धा गर्दैछन् ।
ब्यान्डमा कक्षा ८ देखि १२ सम्म अध्ययनरत विद्यार्थी सहभागी हुनेछन् ।
प्रतिस्पर्धाका लािग डिजिटल अडिसन दिएर २१ ब्याण्ड छनोट भएको पोखरा सांगीतिक कलाकार संघका अध्यक्ष हर्कराज गुरुङले बताए । फिजिकल अडिसन दिएका ब्याण्डहरु फाइनलका लागि छनोट हुनेछन् ।
‘इन्टर कलेज ब्याण्ड कम्पिटिसन’ को विजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो हुने ५० हजार रुपैयाँ र तेस्रो हुनेले २५ हजार रुपैयाँले पुरस्कृत हुनेछ ।
उत्कृष्ट भोकल, लिड गिटार, रिदम गिटार, बेस गिटार र उत्कृष्ट ड्रमरले जनही ५÷५ हजार रुपैयाँ पाउनेछन् ।
प्रतियोगिताको निर्णायकमा सुनिल थापा, सामसुङ तामाङ, विनोद बानियाँ, अमित गुरुङ, किरण बैध रहनेछन् ।
पोखराको सांगीतिक माहोललाई तताउन प्रतियोगिता आयोजना गरेको अध्यक्ष गुरुङले बताए ।
‘पोखराको सांगीतिक माहोललाई तताउँदै ब्याण्डहरुलाई पुर्नःजागृत गराउने उदेश्यले प्रतियोगिता गर्न लागिएको हो’, उनले भने, ‘कलेज र विद्यालयस्तरमा अध्ययनरत विद्यार्थीको प्रतिभा उजार गर्दै विद्यालयमा सांगीतिक माहोल वातावरण बनाउन कोशेढुगा बन्नेमा विश्वस्त छौ’, उनले भने ।
सुस्ताएको पर्यटन संगीतको माध्यमबाट उकास्न मद्धत पुग्ने उनको भनाइ छ ।
प्रकाशित मिति २०८० असोज १० गते बुधबार १२:१४




