पोखरा
केपी ओली कप राष्ट्रिय टि ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमी केन्द्रीय कमिटीले प्रतियोगिताको आयोजना गरेको हो ।
मंसिर ७ देखि १६ गतेसम्म पोखरा रंगशालाको क्रिकेट मैदानमा खेल सञ्चालन हुनेछ ।
आइसिसीको नियम अनुसार खेलाइने प्रतियोगितामा टि ट्वान्टी फर्मम्याटमा खेल सञ्चालन गर्ने मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले बताए ।
११ समूहले प्रतिष्पर्धा गर्ने उनले जानकारी दिए । सातै प्रदेशका समूहसँगै विभागीय टोलि नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र मदन भण्डारी स्पोर्ट्स एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले २ लाख ५० हजार रुपैयाँमा चित्त बुझाउनेछ ।
म्यान अफ दि सिरिजले ३० हजार रुपैयाँ, बेस्ट बलरले २० हजार रुपैयाँ, म्यान अफ दि म्याचले ५ हजार रुपैयाँ पाउनेछ । प्रतियोगिता सम्पन्न गर्न ७७ लाख रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीले अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा लुम्बिनी पिस ओपन हाफ म्याराथन गरेको थियो ।
गतवर्ष पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाममा एमालेको भातृ संगठन युवा संघ नेपालले केपी ओली कप फुटबल प्रतियोगिता गरेको थियो ।
फागुनमा काठामाडौंमा भएको प्रतियोगिताको उपाधि भिडन्तमा सातदोबाटो युथ क्लबलाई पेनाल्टी सुट आउटमा ४–३ गोल अन्तरले पराजित गर्दै मछिन्द्र फुटबल क्लबले जित हासिल गरेको थियो ।
प्रकाशित मिति २०८० असोज ११ गते बिहीबार ०५:४५




