पोखरा
नेपालले १९ औं एशियाली खेलकुदको पुरुष क्रिकेटमा आइतबार माल्दिभ्समाथि १३८ रनको फराकिलो जित निकाल्दै क्वार्टरफाइनलमा स्थान बनाएको छ ।
पिङफेङस्थित झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा नेपालले कमजोर टोली माल्दिभ्समाथि जित निकाल्दै समूह ‘ए’ को विजेताका रूपमा क्वार्टरफाइनलमा स्थान बनाएको हो ।
मंगोलियाबिरुद्धको पहिलो खेलमा कीर्तिमानको वर्षा गर्दै फराकिलो जित निकालेको नेपाल माल्दिभ्सबिरुद्ध पनि रबाफिलो जित निकाल्न सफल भयो ।
२१३ रनको विशाल लक्ष्य पछ्याएको माल्दिभ्स १९.४ ओभरमा ७५ रनमा अलआउट भयो । नेपालको बलिङमा अविनाश बोहोराले ६ विकेट लिँदै माल्दिभ्सको इनिङ धरासायी बनाए ।
सन्दीप लामिछाने, गुल्सन झा, सोमपाल कामी र कुशल भुर्तेलको नाममा समान एक विकेट रह्यो ।
माल्दिभ्सका लागि अब्दुल घानीले सर्वाधिक ३६ रन बनाए । उनले सन्दीपको बलमा छक्कासहित अन्य बलरलाई पनि बाउन्ड्री प्रहार गरे ।
उनी १६ औं ओभरको पहिलो बलमा नै कुशल भुर्तेलद्वारा क्लिन बोल्ड भए । त्यसअघि घानीले ३४ बलमा समान दुई चौका र छक्का हिर्काए । रसम रसिद १२ रनमा नटआउट रहँदा फरिद सिअुसले १० रन जोडे । त्यसबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् र माल्दिभ्स इनिङ दुई बल अगाडि नै समेटियो ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै दुई सय १२ रनको विशाल योगफल खडा ग¥यो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ५१ रनको अर्धशतकीय इनिङ बनाए । शुरुवातदेखि नै आक्रामण खेलेको नेपालले इनिङको अन्त्यसम्म पनि सोही प्रदर्शन जारी राख्यो । कुशल मल्ल २० बल खेल्दै ४७ रनमा नटआउट रहे । उनको इनिङमा समान तीन छक्का र चौका रह्यो । मध्य क्रमका ब्याटर गुल्सन झाले ३५ रन जोड्दा ओपनर कुशल भुर्तेलले पनि ३५ रन नै बनाए ।
तेस्रो ओभरको तेस्रो बलमा नै ओपनर आसिफ सेखलाई गुमाएपनि नेपालले आक्रामक ब्याटिङ भने जारी राख्यो । माल्दिभ्सको बलिङमा बाल्देउ स्माइलले तीन विकेट तथा नासिर नेर स्माइल, मिउभान मोहम्मद र थोलल रायनले समान एक विकेट लिएपनि नेपाललाई विशाल योगफलबाट रोक्न सकेनन् । नेपालले बलिङमा पनि उत्कृष्ट प्रदर्शन गर्दै क्वार्टरफाइनलमा स्थान बनायो ।
अब नेपालले क्वार्टरफाइनलमा पाँच टोली भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानमध्ये एक टोलीसँग प्रतिष्पर्धा गर्नेछ । नेपाली टोलीका कप्तान रोहितकुमार पौडलले आफूहरूले यो पिचमा खेलिसकेकाले त्यसको फाइदा पनि हुने र सकरात्मक नतिजा आउने विश्वास व्यक्त गरेका छन् ।
प्रकाशित मिति २०८० असोज १४ गते आइतबार ०१:१०




