कास्कीमा काेराेना भुसकाे आगाेजस्तै
पाेखरा । गण्डकी प्रदेशमा हालसम्म ११ हजार ६८६ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । १ लाख ७ हजार ६०५ जनाकाे परिक्षणबाट साे संख्याका संक्रमित भेटिएका हुन् ।
प्रदेशभर हालसम्म ४ हजार ६७९ जना सक्रीय संक्रमित रहेका छन् भने हालसम्म ६ हजार ८५९ जना निकाे भएर घर फर्किसकेका छन् । प्रदेशभर हालसम्म काेराेना संक्रमणपछि १४८ जनाले ज्यान गुमाइसकेका छन् ।
काेराेना संक्रमण राेकथामका लागि शुरूवातदेखि नै सक्रीय रहे पनि काेराना संक्रमणकाे राेकथाम तथा नियन्त्रणमा माथिकाे यहि तथ्याङ्ककै आधारमा समेत गण्डकी प्रदेश सरकार असफल भइसकेकाे छ भन्न सकिएला ! प्रदेशकै राजधानीमा विरामीले अस्पतालकाे वेड नपाएर ट्याक्सीमा डुल्दाडुल्दै ज्यान गुमाउनु परेकाे घट्नादेखि आवश्यक सुरक्षा सतर्कता अपनाउने सवालकाे सन्दर्भसम्म, काेभिड नियन्त्रणका लागि शुरूवातदेखि देखाउनुपर्ने तदारूकता र पूर्वाधारकाे तयारीका सन्दर्भमा समेत प्रदेश सरकार प्रभावकारी बन्न सकेन् । फलस्वरूप, प्रदेशकाे राजधानी कास्की प्रदेश सरकारकाे नियन्त्रणबाट बाहिर गएर काेभिडकाे नियन्त्रणमा रह्याे ।
सार्वजनिक महत्व र धेरै भिडभाड हुने व्यावसायीक प्रयाेजनका स्थानहरूमा सरकारकाे नियन्त्रण रहन सकेन् । सरकारी आदेशकाे पालना गर्दै स्व अनुशासनमा बसेका व्यवसाय बाहेक अटेरी गरि अवज्ञा गर्ने व्यावसायिक क्षेत्रमा सरकारी अनुगमन र नियन्त्रण शुन्य प्राय रहँदा प्रदेश र प्रदेशमा पनि विशेष गरि कास्कीमा काेभिड राज्य तथा आम नागरिकले साेचे भन्दा भयावह बन्याे ।
सञ्चालन गर्न नपाइने भनिएकाे भएता पनि पाेखराका जीम तथा जुम्बा, ब्युटीपार्लर, फुटसल, नृत्य प्रशिक्षण केन्द्र, म्युजिकल रेस्टुरेन्ट आदी भित्रभित्रै सञ्चालनमा आउनुले पनि काेराेना भुसकाे आगाे झै समूदायस्तरमा फैलियाे ।
कास्कीकै कुरा गर्ने हाे भने कास्कीमा हालसम्म ४ हजार ९३३ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । हालसम्म १ हजार ५६६ जनाले काेराेना जितेका छन् भने कास्कीमा हाल ३ हजार २९१ सक्रीय संक्रमित रहेका छन् । कास्कीमा काेराेना संक्रमणपछि हालसम्म ७६ जनाले ज्यान गुमाइसकेका छन् ।
काेराेना नियन्त्रणमा प्रदेश सरकार असफल भइसकेकाे स्वयं गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरूङले स्वीकार गरेका छन् । शुक्रबार आयाेजित पोखरा पर्यटन परिषदको अधिवेशनमा बोल्दै गुरूङ्ले असफल भएकाे कुरा स्वीकार गर्न लाज नलाग्ने बताउँदै काेभिड नियन्त्रण तथा राेकथाममा प्रदेश सरकार असफल रहेकाे स्वीकार गरेका हुन् ।
साे क्रममा उनले अब काेराेनासंग हातेमालाे गरेर अगाडी बढ्नुकाे विकल्प नभएकाे र काेराेनाकाे त्रासले कुनै पनि व्यवसाय बन्द गर्ने मनस्थितिमा आफूँ नरहेकाे धारणाा व्यक्त गरे । कार्यक्रममा मानिसहरूकाे भीड लाग्ने मनोरञ्जनात्मक व्यवसायबाट थप जोखिम बढ्ने भन्दै यसअघि संघीय सरकारले बन्द गर्ने निर्णय गरेको डान्स तथा डिस्को बारहरु, सांगीतिक क्लब, दोहोरी तथा गजलहरु अब खोल्नुपर्ने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका हुन् ।
स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर अब डान्स बार, क्लब, दोहोरीजस्ता व्यवसाय पनि खुला गर्नुपर्ने उनको भनाइ छ ।‘अब अनिवार्य मास्क र सेनिटाइजर प्रयोग गर्ने, अनिवार्य सामाजिक दुरी कायम गर्ने गरेर पनि व्यवसाय खोल्नुपर्छ । यसरी खोल्न सक्यो भने नाच्छन्, गाउँछन्, जान्छन्,’ मुख्यमन्त्री गुरुङले भने, ‘कामदार सुसूचित हुनुपर्यो । व्यवस्थित गरेर खोलौं । भीड नगरिकन खोलौं ।’
कोरोना संक्रमणबाट सबै सचेत बन्दै पुरानै लयमा नफर्कने हो भने जनजीवन अझै कठिन बन्ने व्यवसायीको भनाइ छ ।
प्रकाशित मिति २०७७ मंसिर १३ गते शनिबार १०:५७




