पोखरा
नेकपा एमालेको नवनिर्वािचत गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले पद तथा गोपनीयताको सपथ लिएका छन् । निर्वाचन अधिकृत सुरेन्द्र थापामगरले अध्यक्ष थापामगरलाई सपथ खुवाएका हुन् भने अन्य पदाधिकारी तथा सदस्यलाई प्रमाणपत्र र नेताहरुलाई बधाई ज्ञापन गरेका छन् ।
बिहीबार सम्पन्न मतदानबाट नवराज ५३१ मतसहित विजयी भएका थिए । प्रतिस्पर्धी मायानाथ अधिकारीले ३६५ मत प्राप्त गरेका थिए । निवर्तमान अध्यक्ष शर्माको प्यानललाई उपाध्यक्ष विष्णु पौडेल–उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समूहको साथ थियो भने केन्द्रीय सदस्य अधिकारीको प्यानललाई महासचिव शंकर पोखरेल–स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षधरले साथ दिएका थिए ।
उपाध्यक्ष नवराज प्यानलकै स्याङ्जाका मिनप्रसाद गुरुङ, सचिवमा लमजुङका धनञ्जय दवाडी, उपसचिवमा कास्कीका दामबहादुर विक र महिला उपसचिवतर्फ पर्वतकी मन्जु अधिकारी प्यासी विजयी भएका छन् ।
सपथपछि नवनिर्वाचित अध्यक्ष नवराज शर्माले चुनावमा दुई जनाबीच प्रतिस्पर्धा भए पनि आफू कुनै गुटको नभएको दाबी गरेका छन् । आफू पृथ्वीसुब्बा र खगराज कसैको पनि नभएको बताउँदै शर्माले विभाजित होइन, आफ्नो नेतृत्वले एकीकृत गर्ने जिकीर गरे । उनले अब २०८४ सालमा एमालेलाई गण्डकीमा एक्लै सरकार बनाउन पुग्ने बहुमत दिलाउन पुग्ने क्षमताको बनाउने प्रतिवद्धता जनाए ।
अध्यक्षमा हार बेहोरेका मायानाथ अधिकारीले ४० वर्ष एमालेमा बताउँदै लामो समय कार्यकारी भएर काम गरेको बताए । सहमति गराउन नसक्ने अवस्था हुँदा हुँदै पनि निर्वाचन लड्ने परिस्थिति बने पनि आफू सधैं एमालेमै रहेर एकताका पक्षमा उभिने दाबी गरे ।
उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सधैंभरि सहमति पनि ठिक नहुने र सधैं निर्वाचन पनि ठिक नहुने तर यसपटकको पार्टीभित्र चुनावले अर्थपूर्ण सन्देश दिएको बताए । चुनाव हार्नेबित्तिकै, दुई पक्षबीच चुनावबित्तिकै पार्टी नै फुट्योजसरी सोच्ने पार्टीभित्रैको प्रवृति रहेकाले यसको अन्त्य आवश्यक रहेको बताए ।
एमाले सचिव तथा गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्टले चुनाव सकिए पनि कतिपय अवस्थामा एकले अर्कालाई सहयोग नगर्ने, तिक्तता राख्ने देखिने गरेकाले त्यसको अन्त्य गर्न आग्रह गरे । स्थायी कमिटी सदस्य खगराज अधिकारीले एमाले बलियो लोकतान्त्रिक पार्टी हो भन्ने निर्वाचनले पुष्टि गरेको बताए ।
एमालेको सपथ तथा बधाई कार्यक्रमका केही झलक





