२०८३ साउन २१ गते बिहीबार

कोषाध्यक्ष कुमार रम्तेललाई थुनामा राख्न आदेश

कोषाध्यक्ष कुमार रम्तेललाई थुनामा राख्न आदेश

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असोज २१ गते आइतबार ०७:०७

प्रहरी लामो अनुसन्धानपछि १६ असोजमा सरकारी वकिलको कार्यालयमा फाइल बुझाएको थियो भने सरकारी वकिलको कार्यालयले असोज १९ गते जिल्ला अदालतमा मुद्धा दर्ता गराएको थियो ।

फरार १८ जनालाई समाउन टास्कफोर्स

पोखरा

गीतेन्द्र (जीबी) राईको समूहले खालेको पोखराको सूर्य दर्शन सहकारीको ठगी मुद्धामा पक्राउ परेका कुमार रम्तेललाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत कास्कीले आदेश दिएको छ ।

जिल्ला न्यायाधीश केशवप्रसाद बास्तोलाको इजलासले सूर्य दर्शन सहकारीका कोषाध्यक्ष रम्तेललाई थुनामा राख्न आदेश दिएको हो । बचतकर्ताको रकममा बद्मासी गरेको भन्दै जाहेरी परेपछि जिल्ला प्रहरी कार्यालय कास्कीले गत भदौ २४ गते पक्राउ पुर्जी जारी गरेको थियो । त्यसको भोलिपल्टै सूर्यदर्शनका कोषाध्यक्ष रम्तेल पक्राउ परेका थिए । पक्राउ पुर्जी जारी भएका जीबी राइ, शिवबहादुर गुरुङ, (महेन्द्र भोटे)सहित १८ जना अझै फरार छन् ।

प्रहरी लामो अनुसन्धानपछि १६ असोजमा सरकारी वकिलको कार्यालयमा फाइल बुझाएको थियो भने सरकारी वकिलको कार्यालयले असोज १९ गते जिल्ला अदालतमा मुद्धा दर्ता गराएको थियो ।

जिल्ला अदालतले आइतबार बचतकर्ताले जम्मा गरेको रकम फिर्ता नसकी सहकारी बन्द भएको स्वीकार गरेको, जाहेरी, घटना विवरण र नियमाक निकायको विश्लेषणात्मक प्रतिवेदलाईसमेत आधार मानी पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

जिल्ला अदातलमा दर्ता भएको मुद्धामा १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो रकम र ८ देखि १० वर्ष कैद सजायको माग गरिएको छ ।

जिल्ला अदालत कास्कीमा थुनछेक बहस चलिरहँदा गेटबाहिर ठूलो संख्यामा सहकारीका बचतकर्ता भेला भएका थिए । फरारलाई तत्काल पक्राउ गर्न उनीहरुले प्रहरीलाईसमेत दबाब दिएका छन् । फरार प्रतिवादीलाई पक्राउ गर्न प्रहरी निरीक्षकको नेतृत्वमा सादा पोशाकमा विशेष टास्कफोर्स नैै खटाइएको कास्की प्रहरी प्रमुख एसपी मोहनबादुर थापाले जानकारी दिए ।

सहकारीका पूर्व अध्यक्ष जीबी राई, उनकै दाइ भूपेन्द्र, कोषाध्यक्ष कुमार रम्तेल, अहिलेका अध्यक्ष तथा व्यवस्थापकसमेत रहेका थानबहादुर बुढा, सञ्चालक शिवबहादुर (महेन्द्र भोटे), कैलाश दर्लामी, धीरजकुमार दास, हेमन्त अधिकारी, प्रमोद भट्टराई, मनोज नकर्मी, सुरज श्रेष्ठ, भविश्वेर अर्याल, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, दिनेश रोका, ललिता तामाङ फरार छन् ।

लेखा अधिकृत सृष्टि मानन्धर, ऋण अधिकृत बुद्धि गुरुङविरुद्ध पनि सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ पुर्जी जारी भएपछि प्रहरीले फरार भएको जनाएको छ ।

प्रकाशित मिति २०८० असोज २१ गते आइतबार ०७:०७
हजुरको प्रतिक्रिया