नवलपुर
दशै नजिकिएसँगै जिल्ला प्रशासन कार्यालय नवलपुरले अनुगमनलाई तीव्रता दिएको छ । आइतबार र सोमबार लगातार गरिएको अनुगमनको क्रममा म्याद गुज्रेका सामाग्री अत्याधिक भेटिएको र ती सामान बरामद गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले बताए ।
अनुगमनकै क्रममा एप्पलको सोना मन्सली चामलमा अखाद्य बस्तुको मिसावट भेटिएपछि बिक्रिवितरणमा प्रतिबन्ध लगाइएको छ । पवनपुत्र खाद्य उद्योग प्रालि विरगञ्जको एप्पल सोना मन्सुली चामलमा अखाद्य मिसावट भेटिएपछि बिक्रिमा प्रतिवन्ध लगाइएको हो ।
मध्यविन्दु नगरपालिकाको आरुङखोला कोटथरमा गरिएको बजार अनुगमनका क्रममा चामलमा अखाद्य बस्तु फेला परेपछि त्यसको वितरक कम्पनी समीक्षा इन्टरप्राइजेज, कावासोतीमा अनुगमन गरिएको थियो । समीक्षा इन्टरप्राइजेजको गोदाममा रहेका बोराको चामलमा पनि त्यस्तै अखाद्य बस्तु फेला परेपछि नखान र बिक्री गर्न प्रतिवन्ध लगाइएको पर्यटन तथा उद्योग कार्यालय नवलपुरका प्रमुख नगेन्द्र पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार चामलमा मिसावट गरिएको बस्तुको दाना बोराको अन्य चामलभन्दा सेतो र आकारमा ठूलो देखिन्छ भने चपाउँदा प्लास्टिक जसरी तन्किने र पानीमा हाल्दा तैरिने गरेको छ ।
समीक्षा इन्टरप्राइजेजको गोदाममा ५ सय ७७ बोरा चामल भेटिएको छ । जिल्ला प्रशासन कार्यालयले चामलको नमूना परीक्षण गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, तनहुँ पठाइने जनाएको छ । पसलहरुमा बेचिएको चामल पनि बिक्री नगर्न समीक्षा इन्टरप्राइजेजमार्फत अनुरोग गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए ।
अनुगमनका क्रममा म्याद गुज्रेका सामाग्री अत्याधिक भेटिएको र ती सामान बरामद गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए । कावासोती थकाली चोकमा रहेको भगवती इन्टरप्राइजेजबाट मात्र म्याद गज्रेका दुई बोरा खाद्य सामाग्री बरामद गरेको छ । अनुगमनका क्रममा क्लिनिकसमेत अवैध रुपमा सञ्चालन गरेको पाइएको छ । कावासोतीमा रहेको पोखरा डेण्टल क्लिनिक अवैध रुपमा सञ्चालन भएको पाइएपछि बन्द गराइएको छ ।
प्रकाशित मिति २०८० असोज २३ गते मंगलबार ०७:५३




