अञ्जन विष्टले गरे हरी खड्का र निराजन रायमाझीको कीर्तिमान बराबर
फिफा विश्वकप २०२६ का लागि एसिया छनोटको पहिलो चरण अन्तर्गत नेपाल र लाओसविचकाे खेल १-१ गाेलकाे बराबरीमा सकिएकाे छ ।
बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएकाे खेलको ३३ औं मिनेटमा लाओसका कप्तान वोउचन वोउङकोङले गरेकाे गोलमा लाओसले घरेलु टोलीविरुद्ध अग्रता बनाएकाे थियाे। मैदानको मध्यभागबाट आयुष घलानको पास मनिष डाँगीले लिन नसक्दा लाओसका चोनी वेपासेर्टले कप्तानलाई दिएको पासमा नेपाल डिफेन्डरद्वय अनन्त तामाङ र रोहित चन्दलाई विट गर्दै गोलको पोष्टको जाली चुमेको थियो।
पहिलो हाफमा १–० ले पछि परेको घरेलु टोलीले दोस्रो हाफमा बराबरी गाेल गर्दै खेलमा फर्किएको हो। नेपालका अञ्जन विष्टले खेलको ४९ औं मिनेटमा गोल गर्दै नेपाललाई खेलमा फर्काएका हुन्। योसँगै अञ्जनले राष्ट्रिय टोलीबाट १३ गोल पूरा गरेका छन्। उनले यसअघि हरी खड्का र निराजन रायमाझीको नाममा रहेको १३ गोलको कीर्तिमान बराबर गरेका हुन्।
पहिलाे हाफमा वाउ मुमेन्ट क्रियट गर्न नसकेकाे नेपालले लयमा फर्कन खेलकाे दाेस्राे हाफ कर्नुपरेकाे थियाे । पहिलो हाफको तुलनामा दोस्रो हाफमा केही सुधारिएको प्रर्दशन गरेको नेपालले लाओसलाई दबाबमा राखेको थियो।
८२ औं मिनेटमा अञ्जनको प्रहार लाओसका गोलरक्षकले रोक्दा कीर्तिमान बनाउनबाट चुक्न पुगे।
खेलकाे दाेस्राे हाफमा केहि अवसरहरू बनाएकाे नेपालले गाेल गर्न भने सकेन ।
खेलको इन्ज्युरी समयमा लाओसका प्रशिक्षक कनलाया स्योमभाङले सिधै रातो कार्ड पाए। नेपालका डिफेन्डर अनन्तलाई लाओसका खेलाडीले फउल गरेपछि प्रशिक्षक मैदानमा छिरेका थिए।
नेपालले विश्वकप छनोटको एसिया क्षेत्र छनोट अन्तर्गत दोस्रो लेगमा लाओसको घरेलु मैदानमा असोज ३० गते खेल्नेछ।
प्रकाशित मिति २०८० असोज २५ गते बिहीबार ०७:३५




