२०८३ असोज २४ गते शनिबार

नाका नखुल्दै उपल्लो मुस्ताङमा चीन जाने ‘पास’

नाका नखुल्दै उपल्लो मुस्ताङमा चीन जाने ‘पास’

दुर्गा राना मगर

@Public 4K Tv

२०८० असोज २९ गते सोमबार ०३:०७

दशै तिहारभित्र व्यापारिक मेला चलाउनका लागि पहल भइरहेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष गुरुङले जानकारी दिए ।

दशै तिहारभित्र व्यापारिक मेलाका लागि पहल

पोखरा

चीन र मुस्ताङको कोरला सीमा क्षेत्रमा वर्षमा दुईपटक हुने नेपाल–चीन व्यापारिक मेलाका लागि पहल सुरु भएको छ । अन्तरदेशीय व्यापार मेलामा चीन र मुस्ताङमा उत्पादित सामानको खरिदबिक्रि हुन्छ ।

मुस्ताङका सीमावर्ती क्षेत्रका बासिन्दा र चिनियाँ पक्षले वर्षौंदेखि एक अर्काका उत्पादन मेलास्थलमा खरिदबिक्री गर्दै आएका छन् । नेपालले आलु, स्याउ, चौंरी, पस्मिना, गलैँचा यार्सागुम्बालगायतका जडीबुटी चिनियाँ पक्षलाई निर्यात गर्छ । चिनियाँ पक्षले इलेक्ट्रोनिक सामान, गलैंचा, खाद्यन्न, निर्माण सामग्री, लत्ताकपडा र भेडा–च्यांग्रा नेपाली पक्षलाई निर्यात गर्ने गरेको छ । करौंडोको व्यापार हुने व्यापारिक मेला कोभिड महामारी यता भने ठप्प छ । चीनले सुरक्षाका लागि आफ्नो नाका बन्द गर्‍याे जसले व्यापारिक मेला ४ वर्षदेखि हुन सकेको छैन ।

सो क्षेत्रका बासिन्दाका लागि व्यापारिक र आर्थिक उपार्जनका निमित्त दुई वर्षमा हुने व्यापारिक मेलाले ठूलो महत्व राख्छ । व्यापारिक मेलामा भएको खरिदबिक्रि बापत् सरकारका लागि राजश्व रकम पनि उठ्ने गर्छ । सांस्कृतिक, सामाजिक र आर्थिक हिसाबले महत्व बोकेको नेपाल–चीन व्यापारिक मेला स्थगित हुँदा स्थानीयको जनजीवन प्रभावित बनेको  लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङ बताउँछन् ।

यस वर्ष प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणमा चीनसँग जोडिएका नाका सञ्चालन गर्ने विषयमा सकरात्मक छलफल चलेसँगै मुस्ताङका बासिन्दा उत्साहित छन् । नेपालसँग कोरलालगायतका विभिन्न थप आठ नाका खोल्ने सहमति चीनले गरेकाे छ । साथै दुवै देशले जारी गरेको वक्तव्यमा लिजी–नेचुङ सीमा बन्दरगाहको नेपाल तर्फको क्षेत्रमा आवश्यक भौतिक पूर्वाधार निर्माणमा चीनले सहयोग गर्ने बताएको छ । जसमा दुई देशबीच रहेको सीमा व्यापार बिन्दुलाई पुनःसञ्चालनमा ल्याउने समझदारी भयो । यो बन्दरगाहले मुस्ताङलाई जोड्ने भएका कारणले मुस्ताङबासीले यसलाई सकरात्मक रुपमा लिएका छन् ।

जसकारण दशै तिहारभित्र व्यापारिक मेलाका लागि पहल भइरहेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष गुरुङले जानकारी दिए । उनले भने, ‘प्रधानमन्त्रीको चीन भ्रमणसँगै हामी उपल्लो मुस्ताङबासी उत्साहित भएका छौं र यस पटक व्यापारिक मेलाका लागि सीमा खुलाउने पहल पनि गरेका छौं’ । व्यापार ठप्प हुँदा मुस्ताङबासी निराश बनेको बताउँदै गुरुङले कोरला नाकाको सञ्चालनले केही आश देखाएको बताए ।

व्यापारिक मेलाका लागि नै चीनको सीमानामा रहेको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दालाई चीन प्रस्थान प्रवेश अनुमतिपत्र वितरण सुरु गरिएको अध्यक्ष गुरुङले बताए । जिल्ला प्रशासन कार्यालय मुस्ताङले अनुमतिपत्र वितरणको कार्य सुरु गरिसकेको छ । हालसम्म ४ सय बढी चीन प्रस्थान प्रवेशका लागि आवेदन पनि दिइसकेका छन् । मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले नाका खुलाउनका लागि पहलस्वरुप अनुमतिपत्र वितरण सुरु भएको बताए ।

अनुमतिपत्र वितरण सुरु भएपनि नाका खुल्नेबारे भने अझै अन्योल छ । सोही क्षेत्रका सांसद नम्डु गुरुङले मिडियामा चर्चाका लागि पास वितरण सुरु गरिएको भन्दै गुनासो पोखे । उनले नाका खुल्नेमा नै शंका रहेको बताउँदै चर्चाका लागि मात्र चीन प्रस्थानको पास वितरण गरिएको बताए । उनले भने, ‘कोरला नाका खुल्छ जस्तो छैन तर यहाँको प्रशासनले चर्चा बटुल्न पास वितरण गरेको छ । जसको कुनै औचित्य छैन ।’

कोरला नाका सञ्चालन सुरक्षाका लागि नै हालैमा गण्डकीका मुख्यमन्त्री सुरेन्दराज पाण्डेले नाकाको निरीक्षण गरे । मुख्यमन्त्रीसँगै जनप्रतिनिधि, उच्च पदस्थ कर्मचारी, सुरक्षा निकायका अधिकारी कोरला नाका पुगेका थिए । कोरला नाकामा चीनतर्फ भूभागमा अग्ला भवनहरु ठडिएका छन् तर नेपाल तर्फको भूभाग भने खाली छ । कोरला नाकामा ‘नेपाल’ लेखिएको २४ नम्बरको पिल्लर मात्रै  छ । कोरला नाका परिसरमा एकीकृत भन्सार कार्यालयको पूर्वाधार निर्माणको लागि करिब एक हजार रोपनी जग्गा अधिग्रहण भएको छ । साथै सरकारले सर्वे र डिपिआरको लागि बजेट विनियोजन पनि गरेको छ । चीन तर्फमा बस्ती बस्ने गरि पूर्वाधार निर्माण हुँदा नेपाल तर्फ भने बल्ल माटो परीक्षणको काम सकिएको छ ।

पूर्वाधारका नाममा कोरला सीमाभन्दा पर नेचुङमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट बीओपी मात्र छ । सोही बीओपीमा मुख्यमन्त्रीसहितको सुरक्षा बैठक पनि बसेको थियो । बैठकमा नाका सञ्चालन र सुरक्षाबारे छलफल भएको थियो । प्रमुख जिल्ला अधिकारी पन्तले भने, ‘बैठकमा छलफल सकरात्मक थियो ।’ उनले काेरला नाका सञ्चालन भए स‌वेदनशीलता र सुरक्षाका हिसाबले तयारी अवस्थामा रहेकाे बताए ।

प्रकाशित मिति २०८० असोज २९ गते सोमबार ०३:०७

हजुरको प्रतिक्रिया