२०८३ साउन २१ गते बिहीबार

ड्रागन खेतीमा रमाएकी कल्पना

ड्रागन खेतीमा रमाएकी कल्पना

विनोद ढुंगाना

@Public 4K Tv

२०८० कात्तिक १ गते बुधबार ०६:०२

उत्पादन भएका ड्रागनले बजार नपाउने समस्या उनले खेप्नु परेको छैन । गौलीका अनुसार कति उपभोक्ता त फर्ममा आएर लैजान्छन् ।

पोखरा

सेताम्मे फुलेका ड्रागनमा फक्रिएर फल लाग्दा गुलाबि रंगको लालि चढ्छ । फक्रिएका ड्रागनले कल्पना गौलीको दिल उसैगरी लाल बन्छ ।

बेलाबखत सुम्सुमाउदै ड्रागन फ्रुटसँग प्रेमिल बन्छिन । जसरी ड्रागनको फूल फल लाग्न फक्रिएका छन् उसैगरी उनी मुस्कुराउँछिन् ।

न उखरमउलो गर्मी न चिसो सिरेठो, वास्तै नगरी मादी नदी किनारको बगरमा डेढ वर्षदेखि उनको दिल ड्रागनको बोटसँग रमेको छ ।

 

हरेक दिन कल्पनाको पसिनाले सिञ्चित भएका ड्रागनका बोटले बैशाखदेखि फूल खेल्न थाल्यो । पाँच सय पोलमा लगाइएको २ हजार १ सय ड्रागनका बोटसँग दिनहुँ उनको साक्षात्कार हुन्छ ।

१६ वर्ष शिक्षण र १५ वर्ष बुटिक पेशा रोजेकि उनलाई कृषि कर्मले तान्यो । २ वर्ष अगाडीसम्म उनको पौरखले कौशीमा तर्लयाङतुर्लुङ तरकारी झुडिन्थ्यो ।

कौशीको चौघेरोमा सीमित उनको परिश्रमले दमौली बजारभर तरकारी फलाउने प्रेरणा दिलायो ।

कृषि कर्ममा रमाउन कल्पनाले भने कौशीको चौघेरोबाट निस्किएर फराकिलो जमिन खोजिन् । फेला प¥यो, तनहुँको व्यास नगरपालिका–५ ढोडेनीमा नौ रोपनी जग्गा ।

‘जब म प्रकृतिसँग नजिक भएर कृषिमा रम्न थालें अझ फराकिलो ठाउँमा खेल्नुछ भन्ने सोंच पलायो’, कल्पनाले भनिन्, ‘खुला एकान्त ठाउँ रोजेर बहुउदेश्यिय योजनासहित कृषि पेशा सुरु गरें ।’

२० वर्षका लागि जग्गा भाडामा लिएर उनले व्यवसायिक बहुउदेश्यिय कृषि कर्मको सपना बुनिन् । त्यसपछि पहिलो चरणमा उनको दिल सिउँडीको काँडा जस्तै देखिने ड्रागनका बोटमा बस्यो ।

गत वर्ष उनले भारतबाट ड्रागनका विरुवा ल्याएर भिरालो जमिन सम्याउएर रोपिन् । बैशाखबाट काँडामा फूल खेलिरहेको छ । दिल खुस हुने गरेर फल लागेको छ ।

हालसम्म १० लाख रुपैयाँको ड्रागन बिक्री गरेको उनले बताइन् ।

१ करोड लगानी पुगेको सुनाउँदै कल्पनाले थपिन्, ‘यो वर्ष ब्याज पुग्ने भो । अर्को वर्ष साँवा तिर्ने आम्दानी होला । त्यसपछि नाफा देला ।’ दोस्रो वर्ष यसपालिको तुलनामा दोब्बर फल लाग्ने उनको अनुमान छ ।

उत्पादन भएका ड्रागनले बजार नपाउने समस्या उनले खेप्नु परेको छैन । गौलीका अनुसार कति उपभोक्ता त फर्ममा आएर लैजान्छन् । बाँकी दमौली र पोखराका बजारमा बिक्री हुन्छ । ड्रागनले किलोको ६ सय रुपैयाँसम्म मुल्य पाएको उनले जानकारी दिइन् । उनले ड्रागन फ्रुटका बेर्नासमेत बिक्री गर्न थालेकी छन् ।

माँ अम्बे अलौकिक कृषि फर्म सञ्चालन गरेकी कल्पनाको कृषि कर्म ड्रागन फ्रुटमा मात्रै सीमित छैन् ।

उनले घिरौंला फलाएरै झन्डै १ लाख रुपैयाँको बिक्री गरेको बताइन् । बारीमा कर्कलो, अदुवा, बेसार, गिठ्ठा भ्याकुर समेत रोपेकि छन् ।

‘कर्कलो मस्यौंरा बनाइरहेका छौं । अरुलाई पनि सिकाएर स्वरोजगार बनाउँछौं’, कुराकानीमा उनले भनिन् ।

भाडामा लिएको ९ रोपनीसहित आफ्नै ५ रोपनी जग्गालाई पनि कृषि कर्मले हराभरा बनाउने उनको सपना छ । सपनाको सूचीमा च्याउ र कुरिलोको खेती, मौरी पालन र फलफूल खेती अटाएका छन् ।

कुरिलोको विरुवा तयार भएकाले अर्को वर्ष रोप्ने योजना सुनाइन् ।

गौलीलाई कृषि कर्ममा आफु मात्रै रमाउनु छैन । ‘धेरैलाई सिकाउनुछ, रोजीरोटी दिनुछ’, उनले भनिन् ।

सुरुवाती चरण भएकाले हाल १ जनाले उनको फर्ममा नियमित रोजगारी पाएका छन् ।

ड्रागन टिपेर बजार पुर्‍याउने बेला होस् या बारीमा लगाएका खेती गोडमेल गर्ने बेलामा अन्य थुप्रैले रोजगारी पाएका छन् ।

३ करोड रुपैयाँसम्म लगानी गर्ने लक्ष्य राखेर कृषि कर्ममा होमिएको उनले बताइन् ।

तस्बिर सौजन्यः सुनिता आचार्य

प्रकाशित मिति २०८० कात्तिक १ गते बुधबार ०६:०२
हजुरको प्रतिक्रिया