पोखरा
दसैंको छेकोमा पोखराका मासु पसलको अनुगमन भएको छ । उद्योग, वाणिज्य तथा उपभोक्ता हीत संरक्षण निर्देशनालय गण्डकी, जिल्ला प्रशासन कार्यालय कास्की र पोखरा महानगरपालिकाको संयुक्त टोलीले बजार क्षेत्रमा सञ्चालित मासु पसलको अनुगमन गरेको हो ।
अनुगमन टोलीले सृजनाचोक, रत्नचोक, लेकसाइड र बिरौटा क्षेत्रमा सञ्चालित ८ वटा मासु पसल र मासुजन्य सामाग्री बिक्री गर्ने पसलको अनुगमन गरेको छ ।
४ पसललाई अनुगमनका क्रममा ठाउँको ठाउँ कारबाही गरेको जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताए ।
म्याद नाघेका फ्रोजन मटन लगायतका सामाग्री बिक्री गर्ने रत्नचोकस्थित सेभेनस्टार फुड एण्ड मार्ट प्रालिलाई २० हजार रुपैयाँ गरिएको ढकालले जानकारी दिए ।
सरकारी संयन्त्रबाटै अनुदान लिएर सञ्चालित पसलमै कैफियत भेटिएको छ ।
पशुपंक्षी बजार प्रबद्र्धन निर्देशनालयबाट ३० लाख रुपैयाँ अनुदान प्राप्त गरेर लेकसाइडमा सञ्चालित पोखरा मिट मार्टले उत्पादन र उपभोग्य मिति नखुलाइ बटाइको फ्रोजन र बंगुरको मासु प्याकिङ गरेर बिक्री गरेको भेटिएको हो । पोखरा मिट मार्टलाई २० हजार रुपैयाँ जरिवाना गरिएको छ ।
बिरौटाको भोजपुर फ्रेस फ्रेस हाउसले पनि म्याद गुज्रको मासु ससेज लगायतका सामाग्री बिक्री गरेको फेला परेपछि २० हजार रुपैयाँ जरिवाना गरिएको छ । यस्तै, बिरौटाको इम्रान फ्रेस हाउसलाई ५ हजार रुपैयाँ गरिएको छ ।
उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को क, ख र ग बमोजिम कारबाही गरेको सहायक प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।
अनुमगनका क्रममा अन्य मासु पसलले पनि मापदण्ड पूरा नगरेको फेला परेको पोखरा महानगरपालिका अनुगमन समिति सदस्य रहेका सहकारी शाखा प्रमुख भरतराज पौडेलले बताए । उनका अनुसार दर्ता नवीकरण नभएको, ढक तराजु नापतौल जाँच नगरेको, क्षेत्रफल नपुगेको, सरसफाइमा ध्यान नदिएका लगायत समस्या देखिएको छ । म्याद नाघेका बस्तु जफत गरेर नष्टसेमत गरिएको छ ।
प्रकाशित मिति २०८० कात्तिक २ गते बिहीबार ०३:०७




