२०८३ साउन २१ गते बिहीबार

पोखराको नवनिर्मित पेमा धेछेनलिङ गुम्बामा विश्व शान्ति पूजा हुने

पोखराको नवनिर्मित पेमा धेछेनलिङ गुम्बामा विश्व शान्ति पूजा हुने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० कात्तिक १२ गते आइतबार ०२:०८

पोखरामा पहिलो पटक हुन लागेको काग्युर वाचनका लागि देशविदेशबाट १ सय ८ लामा गुरु आउने गुम्बाका धर्म लामा गुरु पाल्देन लामाले जानकारी दिए ।

काग्युर वाचनका लागि देशविदेशबाट १ सय ८ लामा गुरु आउने

पोखरा

पोखराको नवनिर्मित पेमा धेछेनलिङ गुम्बामा मंसिर २ गतेदेखि विश्व शान्ति पूजा हुने भएको छ । ८ दिनसम्म चल्ने पूजामा त्रिपिटक (काग्युर)को १ सय ८ ठेली वाचन हुने आइतबार गुम्बाले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।
पोखरामा पहिलो पटक हुन लागेको काग्युर वाचनका लागि देशविदेशबाट १ सय ८ लामा गुरु आउने गुम्बाका धर्म लामा गुरु पाल्देन लामाले जानकारी दिए । उनले कुनै पनि गुम्बा स्थापना भइसकेपछि गुम्बा राप्ने (प्राणप्रतिष्ठा) नगर्दासम्म उद्घाटन नहुने भएकाले गुम्बा राप्न लागिएको बताए ।

उक्त अवसरमा गत माघ १ गते पोखरामा भएको यति विमानस्थल दुर्घटनामा परी ज्यान गुमाएका ७२ जनाको समेत शान्तिको पूजा गरिने गुम्बाले जनाएको छ । पाल्देनले गौतम बुद्ध दर्शनसँग सम्बन्धित त्रिपिटक विश्वभर फैलिँदा पनि त्यसमा लिखित दर्शन नेपालमा प्रचार नपाएको बताए । काग्युर गर्दा धेरै लामा गुरुसँगै समय पनि लाग्ने भएकाले धेरै खर्चालु हुने पाल्देनको भनाइ थियो । पूजाको उद्घाटन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्नेछन् ।

पूजाको पहिलो दिन शान्ति दीप प्रज्वलन (कु राप्ने)सँगै काग्युर पाठ सुरु हुनेछ । मंसिर ४ गते विश्व ग्रह शान्ति पूजा र मंसिर ६ गते विश्व शान्ति रिवासाङ, लामाछाम धर्मपाल गणचक्र पूजा हुनेछ । उक्त पूजा धर्मगुरु ङिमा साङ्पो आठौं ज्यालसा रिन्पोछेले गर्ने बैदाम तामाङ समाजका अध्यक्ष ज्याक तामाङले जानकारी दिए ।

गुम्बा ०७२ साल मंसिर २० गते धर्म गुरुङ टुल्कु दुवाङ तेन्जिङ रिङ्पोछेले शिलान्यास गरेका थिए । गुम्बामा ८ करोड लाख ८ सय ८ बुद्ध मन्त्रसहितको बुद्ध प्रतिमा निर्माण गरिएको बैदाम तामाङ समाजले जनाएको छ । गुम्बा बनाउन २ करोड ५० लाख रुपैयाँ खर्च भएको तामाङले जानकारी दिए ।

पोखरा १८, खहरे शीतल वनमा बनेको गुम्बाबाट पोखरा लेकसाइडसहित फेवाताल र आसपासका दृश्य नियाल्न सकिन्छ । गुम्बाको औपचारिक उद्घाटन भएसँगै आन्तरिक तथा बाह्य पर्यटकका लागि नयाँ पर्यटकीय गन्तव्य थप हुने विश्वास बैदाम तामाङ समाजले लिएको छ ।

प्रकाशित मिति २०८० कात्तिक १२ गते आइतबार ०२:०८
हजुरको प्रतिक्रिया