पोखरा
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस पोखरा आइपुगेका छन् । गुटरेसलाई गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलगायतले पोखरा विमानस्थलमा स्वागत गरेका छन् । मुख्यमन्त्री पाण्डेले खादा माला र मेयर आचार्यले गुटेरेसलाई ढाका टोपी लगाइदिए । नेपाली सेनाको हेलिकप्टरमा पोखराको पुरानो विमानस्थलमा ओर्लिएका गुटेरसको स्वागतमा बाहिर विभिन्न सांस्कृतिक झाँकी, पञ्चे बाचासहित नागरिक समाज उपस्थित थिए । गुटेरेस आज बास बस्ने होटल पोखरा लेकसाइडको फिस्टेल लजमा पुगेका छन् ।

गुटेरेस दोस्रो पटक पोखरा आइपुगेका हुन् । १९७८ मा विद्यार्थी कालमा पोखरा आइपुगेको बताउँदै गुटेरेसले त्यो बेलै आफू पोखराबाट प्रभावित भएको बताएको मेयर आचार्यले जानकारी दिए । ‘१९७८ मा पहिलो पटक विद्यार्थी कालमा पोखरा आएर यतैबाट दिल्ली पुगेको थिएँ । त्यो बेला नै म पोखराबाट प्रभावित थिएँ,’ गुटरेसको भनाइ उदृत गर्दै मेयर आचार्यले भने, ‘दोस्रो पटक अहिले संयुक्त राष्ट्र संघको महासचिव भएर पोखरा आउन पाउँदा खुसी लागेको छ ।’
गुटुरेसलाई फिस्टेल लजमा ताल, हिमाल प्रस्ट देखिने कोठाको व्यवस्था गरिएको छ । २०३९ सालमा पोखरा आइपुगेका बेलायती राजकुमार चार्ल्स बसेकै कोठामा गुटेरे बसेका छन् ।
धेरै विदेशी तथा धनाड्य व्यक्तिहरुको रोजाइमा सोही कोठा पर्ने र त्यसको मूल्य साढे ३ सय डलर रहेको लज व्यवस्थानले जानकारी दिएको । ‘हरे राम हरे कृष्ण’ सुटिङसमेत गरिएको लजमा भारतीय अभिनेता देवानन्द पनि सोही कोठामा बास बसेका थिए । मंगलबार बिहान ६ः३० बजे उनी सेनाकै हेलिकप्टरमा अन्नपूर्ण आधार शिविर पुग्ने कार्यतालिका छ । गुटेरेसले पोखरा फिस्टेल लज र अन्नपूर्ण आधार शिविरमा जलवायु परिवर्तन सम्बन्धी भिडियो सन्देश रेकर्ड गर्ने कार्यक्रम रहेको पोखराका मेयर धनराज आचार्यले जानकारी दिए ।
४ हजार १ सय ३० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा गुटेरेसले जनवायु परिवर्तबारे जानकारी लिने छन् । स्थानीयले पनि उनलाई समस्या सुनाउने योजना रहेको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ११ का अध्यक्ष हिमबहादुर गुरुङले जानकारी दिए । आधार शिविरमा गुटेरेसलाई अन्नपूर्ण गाउँपालिका, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र स्थानीयले स्वागत गर्ने कार्यक्रम रहेको अन्नपूर्णका अध्यक्ष विष्णु केसीले जानकारी दिए । गुटेरेसलाई पुग्ने भएपछि अन्न्पूर्ण आधार शिविरमा छुट्टै हेलिप्याड बनाइएको छ । मंगलबार नै लुम्बिनी जाने कार्यक्रम छ ।
प्रकाशित मिति २०८० कात्तिक १३ गते सोमबार ०५:४३




