२०८३ कात्तिक ११ गते मंगलबार

ट्रेकिङ शुल्कको विरुद्ध मर्दीका पर्यटन व्यवसायी

विनोद ढुंगाना

@Public 4K Tv

२०८० कात्तिक १५ गते बुधबार ०५:२३

उनले मर्दी क्षेत्रको विकासमा स्थानीय सरकारको लगानी शुन्य रहेको तामाङले बताए । पूर्वाधार निर्माणको नाममा गाउँपालिकाले शुल्क उठाउनु जायज नभएको उनको भनाइ छ ।

पोखरा

माछापुच्छ्रे गाउँपालिकाले गत शुक्रबार पदयात्रामा आउने पर्यटकसँग शुल्क उठाउने सूचना जारी गर्‍याे। गाउँपालिकाभित्र पर्ने पदमार्गमा पदयात्रा गर्ने विदेशी पर्यटकले ५ सय रुपैयाँ र नेपाली पर्यटकले १ सय रुपैयाँ शुल्क तिर्नुपर्ने तोकिएको छ । उठाएको शुल्क पूर्वाधार निर्माणमा खर्चने गाउँपालिकाले जनाएको छ । असारको गाउँसभाले पारित गरेर हालैको कार्यपालिका बैठकबाट भएको निर्णय अनुसार सार्वजनिक सूचनामा भनिएको छ, ‘पर्यटकको सुविधालाई ध्यानमा राखि गाउँपालिकाले पर्यटकीय पदमार्गमा सामान्य पूर्वाधार निर्माण, सूचना केन्द्र स्थापना, सोलार बत्ती जडान, फोहोरमैला व्यवस्थापन लगायतका सुविधा निर्माण तथा व्यवस्थापन गर्न पर्यटन सेवा शुल्क लिइनेछ ।’

माछापुच्छ्रेको माछापुच्छ्रे मोडल ट्रेक, ग्रेट माछापुच्छ्रे ट्रेक, घलेखर्क ताराहिल ट्रेक लगायत पर्यटकको रोजाइमा छन् । पहिलो चरणमा माछापुच्छ्रे मोडल ट्रेक (मर्दी हिमाल) को लोक्याम्पमा र ग्रेट माछापुच्छ्रे ट्रेकको खुमैंडाँडा–कोर्चाङ अन्तर्गत लुब्रुकमा शुल्क उठाउने तयारी छ ।

गाउँसभाबाट पारित आर्थिक ऐन २०८० को अनुसूची ६९७० अनुसार गाउँपालिकाले पदयात्रीबाट शुल्क उठाउन लागेको हो । आगामी हप्तादेखि कार्यन्वयन गर्ने भनिएको गाउँपालिकाको यो निर्णयले माछापुच्छ्रे मोडल ट्रेक (मर्दी हिमाल पदमार्ग) का पर्यटन व्यवसायी भने असन्तृष्ट छन् । कोरोनापछि लय समात्दै गरेको मर्दीको पर्यटन सिध्याउन गाउँपालिका उद्धत रहेको व्यवसायीको आरोप छ ।

गाउँपालिकाको निर्णय मर्दी ट्रेकलाई नै केन्द्रीत गरेर भएको मर्दी हिमाल पर्यटन व्यवस्थापन समितिका पूर्व अध्यक्ष पूर्णबहादुर गुरुङको आरोप छ । ‘माछापुच्छ्रे  गाउँपालिकामा कुनै त्यस्तो ट्रेक छैन जो यो निर्णयले असर गर्ने । सिर्फ यो मर्दी ट्रेकलाई असर गर्ने महसुस गरेका छौं । त्यो भएको कारणले घोर विरोध गर्छौं’, उनले भने । गाउँपालिकाले यो निर्णय फिर्ता लिनेमा उनी विश्वस्त छन् । गाउँपालिका पेलेर जाने अवस्थामा प्रतिकार उत्रने उनको चेतावनी छ ।

मर्दी हिमाल पर्यटन व्यवस्थापन समितिका अध्यक्ष राजकुमार तामाङ गाउँपालिकाको निर्णय काँचो भएको बताउँछन् । ‘हामीसँग राय सल्लाह नलिइकन एकलौटी तरिकाले शुल्क निर्धारण गरिएको छ’, उनी भन्छन्, ‘भर्खरै फस्टाइरहेको पर्यटनलाई असर गर्छ । कमसेकम हामीसँग पनि सल्लाहा लिनुपथ्र्यो ।’

उनले मर्दी क्षेत्रको विकासमा स्थानीय सरकारको लगानी शुन्य रहेको तामाङले बताए । पूर्वाधार निर्माणको नाममा गाउँपालिकाले शुल्क उठाउनु जायज नभएको उनको भनाइ छ । ‘गाउँपालिकाको निर्णयमा फोहोर व्यवस्थापन, सोलार बत्ती जडान गर्ने भनिएको छ । अहिलेसम्म हामी स्वयंम व्यवसायीहरुले पैसा उठाएर बाटो मर्मत, रेखांकन, सूचना बोर्ड राख्दै आइरहेकाछौं’, उनले भने ।

माछापुच्छ्रेले पदयात्रामा आउने पर्यटकसँग शुल्क उठाउन सुरु गरे विदेशी पर्यटक तेहेरो मारमा पर्नेछन् । मर्दी लगायतका पदयात्रामा आउने विदेशी पर्यटकसँग पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) ले संयुक्त रुपमा पदयात्रा सूचना प्रणाली (टिम्स) बापत विदेशी पर्यटकसँग शुल्क लिन्छ । टिम्सबापत सार्क देशका पर्यटकले १ हजार र सार्कबाहिरका विदेशी पर्यटकले २ हजार रूपैयाँ लिने गरेको छ ।

यस्तै, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पनि यहाँका पदमार्गमा प्रवेश शुल्कको नाममा रकम असुल्दै आइरुहेको छ । एक्यापले सार्क देशका पर्यटकसँग १ हजार रुपैयाँ र सार्क बाहिरका विदेशी पर्यटकसँग ३ हजार रूपैयाँका दरले प्रवेश शुल्क लिने गरेको छ । तेहेरो शुल्कले विदेशी पर्यटकमाझ नकरात्मक सन्देश जाने मर्दीका पायोनियर पर्यटन व्यवसायी रशेमलाल गौतमको चिन्ता छ । ‘विदेशी पर्यटकले टिम्स एक्यापलाई पनि तिर्न पर्ने भएकाले नकरात्मक सन्देश जान सक्छ’, उनले भने । आफ्नै देश घुम्नलाई शुल्क तिर्नु नेपालीका लागि उपयुक्त नभएको उनको ठम्याइ छ ।

गाउँपालिकाको निर्णयमा जनप्रतिनिधिकै पनि असन्तृष्टी छ । ‘सरोकारवालासँग एक पटक छलफल गरेर शुल्क उठाउने निर्णय गर्नुपर्ने थियो’, एक कार्यपालिका सदस्यले भने । गाउँसभाले निर्णय गरेपनि कार्यन्वयनमा जानु अगाडि सरोकारवालाको राय लिनुपर्ने ती कार्यपालिका सदस्यको तर्क छ ।

उसो त मर्दी र खुमैंडाँडा–कोर्चाङ क्षेत्रमा गाउँपालिकाकै जनप्रतिनिधिकोसमेत होटल व्यवसायमा लगानी समेत छ ।

 

प्रकाशित मिति २०८० कात्तिक १५ गते बुधबार ०५:२३
हजुरको प्रतिक्रिया