नेपालले शुक्रबार युएईसँग खेल्ने
पाेखरा
आइसिसी टी–२० विश्वकप एसिया छनोटमा नेपाल समूह ’ए’ को उपविजेतामै सीमित भएको छ ।लगातार २ खेल जितेर सेमिफाइनलमा स्थान पक्का गरेको नेपाल बिहीबार ओमनसँग ५ रनले पराजित भएको हो । कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाललाई पराजित गरेको ओमान भने समूह विजेता बनेर अन्तिम ४ मा पुगेको छ । अब सेमिफाइनलमा नेपालले समूह ’बी’ को विजेता र ओमानले समूह ’बी’ को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछन् ।
सेमिफाइनल जितेर फाइनलमा स्थान पक्का गर्ने दुई टिमले आगामी वर्ष अमेरिका र युएईमा हुने आइसिसी टी–२० विश्वकप खेल्नेछन् । बिहीबार कीर्तिपुरमा ओमानले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपालले ९ विकेटको क्षतिमा १४० रन जोड्न सफल भयो ।
नेपालले पावरप्लेको ६ ओभर सकिदा महत्वपूर्ण ३ विकेट गुमाएको थियो । नेपालका ओपनिङ ब्याट्सम्यान आसिफ शेख ५ रनमा आउट हुँदा त्यसपछि मैदान आएका सोमपाल कामी १२ रन बनाएर आउट भए ।
यस्तै छैटौं ओभरको अन्तिम बलमा कुशल भुर्तेल २६ रनमा मेहरान खानबाट बोल्ड भए । त्यसअघि समूह ‘ए’ विजेताको टुंगो लाग्ने खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको ओमानले ९ विकेटको क्षतिमा १४५ रन जोडेको थियो ।
विश्वकपमा छनोटमा नेपालले शुक्रबार युएईसँग खेल्नेछ ।
प्रकाशित मिति २०८० कात्तिक १६ गते बिहीबार ०१:०२




