पोखरा
घामको पहिलो झुल्को अन्नपूर्ण साउथ र हिमचुलीको चुचुरोमा ठोक्किदा सुनौलो देखिन्छ । घामको किरण बढ्दै गएपछि माछापुच्छ्रेसँगै मर्दी, गंगापूर्ण, गन्धर्वचूली लगायतका हिमाल छ्यांगै खुलेर मोहनी लगाउछ ।
मनमोहक दृश्य नियाल्दै हिमालको समीपमा रमाउन मर्दी हिमाल पदयात्रा गर्ने स्वदेशी र विदेशी पर्यटकको यतिबेला भीड लागेको छ । समुन्द्री सतहबाट ४ हजार २ सय मिटरको उचाइमा रहेको ‘भ्यू पोइन्ट’ मा सूर्योदय नियाल्न घामको झुल्कोभन्दा पहिले पर्यटकको पाइला पुग्छ ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ मा पर्ने मर्दी हिमाल हाइक्याम्पमा बास बसेका पर्यटक सूर्योदय नियाल्न विहान २ बजेदेखि नै ‘भ्यू पोइन्ट’ तर्फको बाटो तताउँछन् । ३ हजार ५५० मिटर उचाइको मर्दी हाइक्याम्पबाट २ घण्टाको यात्रामा ‘भ्यू पोइन्ट’ पुगिन्छ ।
‘भ्यू पोइन्ट’ बाट सूर्योदयसँगै खुलेका हिमालको दृख्य निकै मनमोहक देखिन्छ । ‘भ्यु पोइन्ट’ पुगेर हिमालको सान्निध्यमा रमाएर धित नमरेपछि अधिकांश २ घण्टा उकालो चढेर ४ हजार ५०० मिटर उचाइको मर्दी आधार शिविर पुगेर हिमाललाई स्पर्श गरेर फर्कन्छन् ।










