संयुक्त अरब इमिरेट्स (युएई) ८ विकेटले पराजित
काठमाडौं । ओपनर आसिफ शेखको अर्धशतकीय ब्याटिङ मद्दतमा नेपाल आइसिसी टि-२० विश्वकपमा १० बर्षपछि फेरि एकपटक छनोट हुन सफल भएको छ ।
शुक्रबार काठमाडौंको मूलपानी मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट भएको हो । नेपालले यसअघि सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो ।
मूलपानी मैदानमा टस जितेर पहिले ब्याटिङ राेजेकाे युएईलाई नेपाली बलरहरूले खुलेर खेल्न नदिँदा उसले राम्राे शुरूवात गर्न सकेन् । पार्टटाइम बलर कुशल मल्ल एक्लैले ३ विकेट लिएकाे खेलमा युएईले निर्धारित २० ओभर खेलेर १३४ रन मात्र जाेडन सक्याे । ३ ओभर बलिङ गरेका उनले ११ रन खर्चेर ३ विकेट लिए । युएईलाई मध्यम स्कोरमा सन्दीप लामिछानेले २, सोमपाल कामी र रोहित पौडेलले १/१ विकेट लिए । युएईका लागि वृत्य अरविन्दले ५१ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ६४ रन बनाए भने ओपनर माेहम्मद वसिमकाे २६, आलिसान सराफु १६ र आसिफ खान १३ बाहेक अन्य व्याट्सम्यानले दाेहाेराे अंकमा रन जाेडन सकेनन् ।

१३५ रनको लक्ष्य पछ्याएकाे नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ६४ रन बनाए । ५१ बलकाे सामना गरेका शेखले ७ चाैका र १ छक्काकाे मद्दतमा ६४ रन जाेडेका हुन् । नेपाललाई सहज जित दिलाउन कप्तान रोहित पौडेल २० बलमा २ चौका र २ छक्कासहित ३४ रनमा नट आउट रहे । नेपाललाई ओपनर कुशल भुर्तेल र आसिफ शेखले ३ ओभरमा २६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । भुर्तेलले ८ बलमा २ चौका हानेका थिए ।
दोस्रो विकेटका लागि गुलशन झा र आसिफ शेखले ४१ रनको साझेदारी गरे । गुलशनले २४ बलमा ३ चौका प्रहार गरे । १ सय ३५ रनको लक्ष्य नेपालले १७. १ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेर १० बर्षपछि फेरि विश्वकपमा छनाेट हुन सफल बन्याे ।
काठमाडौंमा भएको छनोट खेलबाट ओमान पनि विश्वकपमा छनोट भएको छ । नेपाल र ओमान छनोट भएपछि सन् २०२४ मा हुने टी-२० विश्वकप खेल्ने १८ टोली छनोट भइसकेका छन् । आईसीसी मेन्स टी-२० विश्वकप २०२४ मा कुल २० टिमले प्रतिस्पर्धा गर्नेछन् ।

जसमा वेष्ट इन्डिज र अमेरिका आयोजकको रुपमा छन् र सीधै छनोट भइसकेका छन् । २०२२ को टी-२० विश्वकपमा शीर्ष आठमा रहेका अष्ट्रेलिया, इंग्ल्याण्ड, भारत, नेदरल्याण्ड्स, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंका सीधै छनोट भइसकेका छन् ।
टी-२० विश्वकपपछि वरियतामा माथि रहेका आधारमा बंगलादेश र अफगानिस्तानले पनि स्थान सुरक्षित गरेका छन् । आयरल्याण्ड, स्कटल्याण्ड, पपुवा न्युगिनी र क्यानडाले टी-२० विश्वकप रिजनल क्वालिफायर्सबाट टी-२० विश्वकपमा स्थान पक्का गरिसकेका छन् ।
आगामी २० नोभेम्बर देखि १ डिसेम्बरमा नामिबियामा हुने अफ्रिका क्वालिफायर फाइनलबाट दुई टिमले विश्वकपमा स्थान बनाउनेछन् ।
प्रकाशित मिति २०८० कात्तिक १७ गते शुक्रबार ०३:०६




