पोखरा
पोखराको पर्यटकीय केन्द्र लेकसाइडमा २ ४ सै घन्टा व्यापार व्यवसाय खोल्न उच्च अदालत पोखराले आदेश गरेको छ । देवीकुमारी बरालको रिट निवेदनमा कायम मुकायम मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजालासले बुधबार उक्त आदेश गरेको हो।
अदालतले यसमा के कसो भएको हो ? निवेदकको माग अनुसारको आदेश किन जारी हुनु नपर्ने हो ? निवेदकको निवेदन माग अनुसारको आदेश जारी हुनु नपर्ने भए आधार, कारण एवं प्रमाण सहित म्याद सूचना तामेल भएको मितिले बाटाका म्याद बाहेक १५ दिनभित्र विपक्षीहरुका हकमा उच्च सरकारी वकिल कार्यालय पोखरा मार्फत, लिखित जवाफ पेश गर्नुहोला भनी विपक्षीका नाममा आदेश जारी गरेको छ ।
रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता मोहननाथ कोइराला, अधिवक्तात्रय शिवराज वाग्ले, दीपक पराजुली र दिनेश आचार्यले बहस गरेका थिए। निवेदकलाई कानून बमोजिम व्यापार व्यवसाय गर्न रोक्ने, रोक्न लगाउने कार्य नगर्नु नगराउनु भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२ तथा मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५८ बमोजिम विपक्षीहरुका नाममा अन्तरिम आदेश जारी गरिएको हो ।
प्रकाशित मिति २०८० कात्तिक २२ गते बुधबार ०५:१२




