पोखरा
पोखरामा शनिबारदेखि रैथाने हाटबजार सञ्चालन हुने भएको छ । पोखरा महानगरपालिका र श्री कम्प्लेक्स प्रालिको साझेदारीमा उक्त हाटबजार सुरु हुन लागेको हो ।
शनिबारदेखि सुरु हुने हाटबजारमा स्थानीय उत्पादनका १० बढी स्टलहरु राखिने पोखरा महानगर आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले जानकारी दिए । स्थानीय उत्पादन र उद्यमीलाई उपभोक्तासँग जोड्न हाटबजार सञ्चालन गर्न लागिएको महानगरको दाबी छ ।
हाटबजारमा मन खुसी फाउन्डेसनले तयार गरेको ह्यान्डीक्राफ्ट (मोजा, टोपी), प्राप्ति प्रशान्त हस्तकलाले तयार गरेको पोते माला, आमा एग्रो प्रोडक्टका स्थानीय उत्पादनका कृषि उपजहरू, सगुन हस्तकलाले तयार गरेको धागोका सामानहरू हाटबजारमा राखिनेछन् ।
यस्तै पुष्पान्जलीले तयार पारेको विवाहका लागि चाहिने सामान (सई पाटा), विधाता हस्तकला उद्योगद्वारा उत्पादित हस्तकलाका सामाग्रीहरू, कृषि सञ्जाल वडा नं. ६ ले उत्पादन गरेका कृषि उपजहरू र महिला सीप विकास संस्थाद्वारा उत्पादित स्थानीय हस्तकलाका सामाग्रीहरू हाटबजारमा बिक्रीका लागि राखिने कडरियाले जानकारी दिए ।
रैथाने हाटबजारमा तिहार लक्षित खानाका परिकारसहित र स्थानीयस्तरमा उत्पादित खाद्य वस्तुहरू कोदो, मकै, गहुँ, फापर लगायत तरकारीजन्य उत्पादनहरु पनि बिक्रीका लागि राखिने महानगरको भनाइ छ ।
त्यस्तै, पोखरा महानगरले हाटबजारको सुरुआतमा ३ दिनसम्म सयपत्री पुष्पमेला पनि गर्ने भएको छ । स्थानीय कृषकले उत्पादन गरेका फूलमाला बिक्रिवितरणका लागि ३ दिन मेला आयोजना गरिएको कडरियाले बताए ।
पोखरा महानगरपालिका वडा नं. १३ ले पनि तिहार लक्षित गरी सयपत्री पुष्पमेला आयोजना गर्ने भएको छ ।
प्रकाशित मिति २०८० कात्तिक २४ गते शुक्रबार ०९:१५




