२०८३ साउन २१ गते बिहीबार

खुल्यो मुस्ताङको कोरला नाका, बाह्रै महिना खुल्ने सम्भावना कति ?

खुल्यो मुस्ताङको कोरला नाका, बाह्रै महिना खुल्ने सम्भावना कति ?

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० कात्तिक २७ गते सोमबार ०४:०३

पहिलो चरण अन्तरगत जिल्ला प्रशासन कार्यालय मुस्ताङले कोरला नाकाको सीमा प्रस्थान अनुमति पत्र ९ सय ८० जनालाई वितरण गरेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।

पोखरा

चीनसँग जोडिने मुस्ताङको कोरला नाका सोमबारदेखि खुला भएको छ । नेपाल र चीनलाई जोड्ने नेचुङ–लिजी नाका अर्थात् मुस्ताङको कोरला नाका औपचारिक रुपमा खु्ल्ला भएको हो । कोभिड महामारीका कारण विगत ४ वर्षदेखि ठप्प रहेको कोरला नाका दुवै पक्षका अधिकारीले सोमबार औपचारिक रुपमा उद्घाटन गरि खुला गरेका हुन् ।

खुला गरिएको नाकामा हाल उपल्लो मुस्ताङको लोमान्थाङ र लो–घेकार दामोदरकुण्ड गाउँपालिकाका स्थानीय मात्र जान पाउँछन् । गत असोजदेखि नै दुई गाउँपालिकाका स्थानीयलाई मात्र सीमा प्रस्थान अनुमति पत्रको पास बाँडेको थियो । पहिलो चरण अन्तरगत जिल्ला प्रशासन कार्यालय मुस्ताङले कोरला नाकाको सीमा प्रस्थान अनुमति पत्र ९ सय ८० जनालाई वितरण गरेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।

प्रधानमन्त्रीको चीन भ्रमणसँगै कोरला नाका सञ्चालनको विषयमा चीन पक्ष सकरात्मक देखिएका थिए । त्यसलगत्तै चीन र नेपाल पक्षबीच कोरला नाका सञ्चालनका लागि छलफल भएको थियो ।

कोरला नाका उद्घाटनमा नेपाल पक्षबाट संघीय प्रतिनिधि सभा सदस्य योगेश गौचन थकाली, गण्डकी प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री दिपेन्द्रबहादुर थापा, पोखराका मेयर धनराज आचार्यलगायतको उपस्थिति थियो । चीन पक्षको नेतृत्व सिगात्से शहरका मेयर वाङ फ्याङ हङ्गले गरेका थिए ।

सासंद थकालीले नाका सञ्चालनको झन्डै २ दशकदेखिको प्रयासले अहिले सार्थकता पाएको बताए । उनले चीनतर्फको पक्ष बाह्रै महिना नाका सञ्चालनबारे सकरात्मक रहेको बताए । यसका लागि नेपालतर्फको सुरक्षा र पहल बढाउनुपर्नेमा जोड दिए ।

यता व्यापारिक कारोबारका लागि कोरला नाकामा निर्भर रहेका उपल्लो मुस्ताङबासी नाका खुलेसँगै खुसी भएका छन् । सोही क्षेत्रका सांसद विकल शेरचनले कोरला नाका खोल्नु सकरात्मक भएको बताउँदै यसले स्थानीयलाई उर्जा दिएको बताए ।

नाका खुलेसँगै उपल्लो मुस्ताङबासीका लागि चीन सरकारले खाद्यन्न, लत्ताकपडासहितका सामग्री राहतका रुपमा प्रदान गरेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले बताए । कोभिड अघिसम्म वर्षमा दुईपटक व्यापारिक मेला नाकामा लाग्ने गथ्र्यो ।

जसमा बिजुलीका सामान, पेयपदार्थ, पस्मिना, पिठो, भेडाच्याङ्ग्रा, यार्सागुम्बा लगायतका सामग्री आयात तथा निर्यात गरिन्थ्यो । करोडौंको व्यापार हुने मेला सञ्चालन नहुँदा भने स्थानीय चिन्तित बनेका थिए ।

कोरला नाका सञ्चालन हुनेतर्फ सकरात्मक भएरै चीनले आफ्नो तर्फ भव्य आधुनिक पूर्वाधारसहितको भवन निर्र्माण गरिसकेको थियो । नेपालतर्फको भुभाग भने खाली चौर नै छ । हालका लागि चीन सरकारकै सहयोगमा अस्थायी भन्सार कार्यालय र सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) का लागि आवश्यक पर्ने अस्थायी पूर्वाधार निर्माण गरिएको छ । मुस्ताङ कोरला नाका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा वि.स २०५८ जेठ १ देखि सुरु भएको थियो ।

प्रकाशित मिति २०८० कात्तिक २७ गते सोमबार ०४:०३
हजुरको प्रतिक्रिया