बेच्न तयार पारिएको सामाग्री, नगद र लत्ताकपडासमेत जलेपछि बिचल्लीमा
पोखरा
पोखरा महानगरपालिका वडा नम्बर २९ लेखनाथको घोतघोतेमा रहेको दृष्टिबिहीन आश्रममा आगलागी भएको छ ।
दृष्टिबिहीनहरुको समूह देउसीभैलोे खेल्न गएका बेला बुधबार राति आगलागी भएको दृष्टिबिहीन सञ्चालक सुशील गोेदारले जानकारी दिए । भाडामा लिएर दृष्टिबिहीनहरुले सञ्चालन गरेको आश्रम र विक्री गर्नका लागि राखिएको विभिन्न सामाग्रीसहित लत्ताकपडा र नगदसमेत जलेर नष्ट भएको छ ।
दृष्टिबिहीनहरुले विभिन्न ठाउँमा पुगेर कलम, अगरबत्ति, हर्पिक, कपुरलगायतका सामाग्री बेचेर जम्मा गरेको करिब ८ लाख रुपैयाँ नगदसमेत जलेर नष्ट भएको गोदारले जानकारी दिए ।
आश्रममा करिब ३० जना बस्ने भए पनि अहिले तिहारमा धेरैजसो घर गएका कारण ९÷१० जनामात्रै रहेको उनले बताए । महिनाको १५ हजार रुपैयाँ तिरेर भाडामा लिएको घर, घरका समान र बिक्रीका लागि राखिएका विभिन्न सामाग्रीसमेत जलेपछि आफूहरु बिचल्लीमा रहेको राजकुमार चौधरीले दुखेसो पोखे । सबै जलेर नष्ट भएपछि अहिले उनीहरुसँग हरको लुगाबाहेक अरु केही पनि बाँकी नरहेको चौेधरीले बताए ।
देशका विभिन्न ठाउँबाट दृष्टिबिहीनहरु आएर आश्रममा आश्रय लिने र विभिन्न उद्यमका काम गर्ने आश्रम नै जलेपछि उनीहरुलाई ठूलो चिन्ता परेको छ । दृष्टिबिहिन र अपांगता भएकाहरुसमेत सो आश्रममा बसेर अगरबत्ति, कपुर, पेन्सल, डस्पेन, फिनल, हर्पिक, अबिर, केसरी लगाएतका सामग्रीहरु बजारमा लागेर बेच्ने गरेका थिए । बेच्नका लागि तयार पारिएकोे सबै सामाग्री जलेर नष्ट भएको छ । अपांगता मैत्री समाज कास्कीले घर भाडामा लिएर आश्रम सञ्चालन गर्दै आएको थियो ।
प्रकाशित मिति २०८० कात्तिक ३० गते बिहीबार ०६:५३




