पाेखरा
फिल्म ‘दिमाग खराब’को प्रदर्शन स्थगित नहुने भएको छ । बिहीवार फिल्म निर्माता र प्रदर्शक संस्था चलचित्र संघबीच प्रदर्शनलाई निरन्तरता दिने निर्णय भएको हो ।
संघको कार्यालय विशालनगरमा बसेको बैठकपछि महासचिव नरेन्द्र महर्जनले विज्ञप्ति जारी गर्दै दर्शकको मागअनुसार शो बढाउँदै जाने कुरामा सहमति जुटेको बताए । तर, फिल्म चलिञ्जेल ५० प्रतिशत सेयर कायम गर्नुपर्ने निर्माताको मागमा सहमति जुट्न सकेन ।
यसका लागि मंगलबार पुनः अर्को चरणको बैठक बस्ने सहमति पनि जुटेको छ । चलचित्र संघका उपत्यका सभापति सुरेन्द्र थापाले बैठकको सहमतिअनुसार ‘दिमाग खराब’को प्रदर्शनलाई निरन्तरता दिने निर्णय भएको समेत बताए । बैठकमा फिल्मका तर्फबाट निर्माता, निर्देशक र वितरक सहभागि थिए ।
उच्च अकपेन्सीका बावजूद पनि मल्टीप्लेक्सहरुमा न्यून शोज दिएपछि निर्देशक निश्चल बस्नेतले बुधबार फेसबुक लाइभमार्फत् दुईटा माग राख्दै त्यो पूरा नभए शुक्रबारबाट प्रदर्शन रोक्ने घोषणा गरेका थिए । आइतबारबाट आएको बलिउड फिल्म ‘टाइगर ३’का कारण फिल्मलाई मल्टीप्लेक्सहरुले न्यून शोज दिएका छन् । तर, तिहार विदामा ‘टाइगर ३’ भन्दा ‘दिमाग खराब’को अकुपेन्सी सुखद् छ ।
प्रकाशित मिति २०८० कात्तिक ३० गते बिहीबार ०६:५६




