मौलिक गाउँ, संस्कृति र परम्पराको झल्को एकै ठाउँमा
पोखरा
मगर भेषभुसामा चिटिक्क परेर निस्किएका छन्, बुढाबुढीदेखि केटाकेटीसम्म । मौलिक झ्याउरे होस् वा सोरठी र कौरामा कम्मर मर्काइ मर्काइ नाच चलिरहेको छ, ठाउँ ठाउँमा । लोप हुने चरणमै पुगिसकेकाे पुरानो शैलीको घर ठड्याइएको छ ।
मगर आदीवासीले पुज्ने चण्डीथानदेखि धार्मिक महत्वको स्थान पनि सोही ठाउँमा राखिएको छ । अहिलेको सहरी नयाँ पुस्ताले नदेखेको वा गाउँमा समेत हराउँदै गइरहेको पिँडीमा देख्न पाइन्छ, ढिकी ।
थारु, मगर, गुरुङ लगायतका विभिन्न जातजातिको संस्कृति झल्कने घर, होटल पनि एउटै ठाउँमा मिलाएर राखिएको छ ।

यसरी अब केही दिन मौलिक गाउँ, संस्कृति र परम्पराको झल्को एकै ठाउँमा हेर्ने पाउने व्यवस्था मिलाइएको छ । त्यो हो, प्रथम नवलपुर मगर सास्कृतिक, पर्यटक, कृषि तथा व्यापारिक महोत्सव ।
शुक्रबार गण्डकीका पर्यटनमन्त्री दिपेन्द्र थापामगरले उद्घाटन गरेपछि सुरु भएको महोत्सव मंसिर ११ गतेसम्म चल्ने छ ।
महोत्सवमा मगरहरुको मौलिक नाच कौराहा नाच प्रतियोगिता राखिएको छ । कौराहा नाच प्रतियोगितामा प्रथम हुनेले १ लाख, द्वितीय हुनेले ६० हजार र तृतीय हुनेले ४० हजार रुपैयाँ नगद पुरस्कार पाउने नेपाल मगर संघ नवलपुरका अध्यक्ष भुम राई मगरले जानकारी दिए ।
महोत्सवमा १ सय ५० वटा स्टलहरु छन् भने थारु मगर, गुरुङ लगायतका विभिन्न जातजातिको संस्कृति झल्कने घर, होटल आदि छन् । महोत्सवको पहिलो दिन मगर समुदायको सोरठी नाच प्रदर्शन गरिएको थियो ।




