वैशाखदेखि कात्तिकसम्ममा एक लाख २५ हजार पाँच सय ३४ पर्यटकले ‘एक्याप’को भ्रमण गरे
पाेखरा
गत कात्तिकमा २४ हजार चार सय नौ पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्र घुमेका छन् ।
यसरी घुम्न आउनेमा दक्षिण एसियाली मुलुकका सात हजार चार सय ७९ र अन्य १६ हजार नौ सय ३० पर्यटक रहेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र ‘एक्याप’का प्रमुख डा रविन कडरियाका अनुसार २०८० साल सुरु भएयता वैशाख र असोज महिनापछि कात्तिकमा सबैभन्दा बढी पर्यटकले ‘एक्याप’ घुमेका छन् ।
वैशाखमा ३१ हजार नौ सय ५१ र असोजमा २८ हजार सात सय पाँच पर्यटक त्यस क्षेत्रमा पुगेका थिए । सबैभन्दा कम साउनमा पाँच हजार ४ सय एक पर्यटकले अन्नपूर्ण क्षेत्र घुमेको ‘एक्याप’ प्रमुख डा कडरियाले बताए ।
गत वैशाखदेखि कात्तिकसम्ममा एक लाख २५ हजार पाँच सय ३४ पर्यटकले ‘एक्याप’को भ्रमण गरेका छन् । गत वर्ष सोही अवधिमा ९५ हजार नौ सय ११ विदेशी पर्यटक अन्नपूर्ण संरक्षण क्षेत्रमा पुगेका थिए ।
अहिलेको मुख्य पर्यटकीय याममा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, म्याग्दीको घोडेपानीलगायत अन्नपूर्ण फेरोमा पर्ने गन्तव्यस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो चहलपहल देखिएको प्रमुख डा कडरियाले बताए ।
उनका अनुसार दसैँ र तिहारको बीचमा पदयात्रामा जाने बढी हुन्छन् । सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र पदयात्राका लागि आकर्षक गन्तव्य मानिन्छ । तीन वर्षअघि चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वका घुम्नै पर्ने दस गन्तव्य सूचीमा राखेको थियो ।
हालै नेपाल भ्रमणका क्रममा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस अन्नपूर्ण आधार शिविर पुग्नुले पनि यस क्षेत्रको महत्व थप चुलिएको छ । अमेरिकी समाचार संस्था ‘सिएनएन’ले सन् २०२३ मा विश्वका घुम्नैपर्ने २३ गन्तव्यको सूचीमा परेको मुस्ताङ उपत्यका पनि अन्नपूर्ण संरक्षण क्षेत्रमै पर्छ ।
मुख्य पर्यटकीय याम (असोज–कात्तिक) र (चैत–वैशाख) मा अन्नपूर्ण क्षेत्रमा पर्यटकको घुइँचो लाग्ने गरेको गुरुङले बताए । गुरुङले विदेशी पर्यटकसहित यो याममा मर्दी आधार शिविर र घोडेपानी हुँदै मुक्तिनाथसम्मको पदयात्रा गरेका थिए ।
प्रकाशित मिति २०८० मंसिर २ गते शनिबार ११:१४




