म पनि शान्त छैन तर अन्तिम सत्य शान्ति नै रहेछः मुख्यमन्त्री पाण्डे
पोखराको नवनिर्मित पेमा धेछेनलिङ गुम्बामा आजदेखि विश्व शान्ति पूजा सुरु भएको छ । ८ दिनसम्म चल्ने पूजामा त्रिपिटक (काग्युर) को १०८ ठेली वाचन सुरु भएको छ ।
विश्व शान्ति पूजाको गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका छन् । पोखरामा पहिलो पटक हुन लागेको काग्युर वाचनका लागि देश विदेशबाट १०८ लामा गुरु पोखरा आइपुगेको गुम्बाका धर्म लामा गुरु पाल्देन लामाले जानकारी दिए । शान्ति पूजाकै अवसरमा अवसरमा गत माघ १ गते पोखरामा भएको यति विमानस्थल दुर्घटनामा परी ज्यान गुमाएका ७२ जनाको आत्माको शान्तिको पूजा पनि हुँदै छ ।
गौतम बुद्ध दर्शनसँग सम्बन्धित त्रिपिटक विश्वभर फैलिँदा पनि त्यसमा लिखित दर्शन नेपालमा प्रचार नपाएको पाल्देनले बताए । काग्युर गर्दा धेरै लामा गुरुसँगै समय पनि लाग्ने भएकाले धेरै खर्चालु हुने पाल्देनको भनाइ थियो ।
पूजाको पहिलो दिन आज शान्ति दीप प्रज्वलनसँगै काग्युर पाठ सुरु भएको छ । मंसिर ४ गते विश्व ग्रह शान्ति पूजा र मंसिर ६ गते विश्व शान्ति रिवासाङ, लामाछाम धर्मपाल गणचक्र पूजा हुनेछ । उक्त पूजा धर्मगुरु ङिमा साङ्पो आठौं ज्यालसा रिन्पोछेले गर्ने बैदाम तामाङ समाजका अध्यक्ष ज्याक तामाङले जानकारी दिए ।
शान्ति पूजाको सुरुवातमा बोल्दै गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सबैभन्दा ठूलो कुरा नै शान्ति खोज भएको बताए । शान्तिकै लागि आज मानिस अशान्त बनेको र शान्ति नभए भने जतिसुकै धनाड्य भएपनि केही नहुने उनको भनाइ थियो । अहिले आफूजस्तै अधिकांश मान्छे अशान्त रहेको पाण्डेको जोड थियो ।

गुम्बा ०७२ साल मंसिर २० गते धर्म गुरुङ टुल्कु दुवाङ तेन्जिङ रिङ्पोछेले शिलान्यास गरेका थिए । गुम्बामा ८ करोड लाख ८ सय ८ बुद्ध मन्त्रसहितको बुद्ध प्रतिमा निर्माण गरिएको बैदाम तामाङ समाजले जनाएको छ । गुम्बा बनाउन २ करोड ५० लाख रुपैयाँ खर्च भएको तामाङले जानकारी दिए ।
पोखरा महानगरपालिका–१८, खहरे शीतल वनमा बनेको गुम्बाबाट पोखरा लेकसाइडसहित फेवाताल र आसपासका दृश्य नियाल्न सकिन्छ ।
प्रकाशित मिति २०८० मंसिर २ गते शनिबार ०८:२३




