आर्बा–विजयडाँडाको रुट अन्तर्राष्ट्रियस्तरमै उपयुक्तः मेयर आचार्य
पोखरा
पोखरा महानगरपालिका–१३ स्थित आर्बा–विजयडाँडामा आगामी मङ्सिर ९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालसहित ११ देशका ५५ खेलाडीले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।
सहभागी खेलाडीमा पाँच जना महिला छन् । साहसिक खेल पर्यटनका लागि प्रख्यात पोखरामा प्रतियोगिताबाट विश्वभरका साहसिक माउन्टेन बाइकप्रेमीलाई आकर्षित गर्ने विश्वास लिइएको छ।

माउन्टेन बाइक कम्पनी डन टिल डस्कको आयोजनामा प्रतियोगिता समुद्री सतहबाट एक हजार तीन सय ६० मिटर उचाइमा रहेको आर्वा–विजयडाँडामा सुरु भएको हो । प्रतियोगिताका लागि पाँच वटा रुट तय गरिएको छ ।
यो कम्पनीले सन् २०१७ देखि नेपालमा अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता सुरु गरेको थियो । सुरुमा मनाङ जिल्लामा सुरु भएको यो प्रतियोगिता कोभिड अगाडिसम्म पोखराको रानीवनमा भएको थियो ।
रानीवनमा चिसो र ओसका कारण साइकल चिप्लने भएपछि नयाँ ठाउँका रुपमा पोखरा–१३ आर्बा–विजयडाँडालाई रोजिएको हो । अब बर्सेनि यही ठाउँमा नियमित यो प्रतियोगिता गर्ने तयारी आयोजकको छ । प्रतियोगितालाई पोखरा महानगरपालिका खेलकुद परिषदले सहकार्य गरेको छ ।
प्रतियोगिताको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सिंगापुरका खेलाडी वेलसोन लोलाई नम्बर प्लेट दियर प्रतियोगिताको उद्घाटन गरेका हुन् । प्रतियोगितामा सात विधामा प्रतिस्पर्धा हुने निर्देशक सुनिलचन्द्र शर्माले जानकारी दिए ।
प्रतियोगिताको इलिट पुरुषतर्फको विजेताले नगद ५० हजार, उपविजेतालाई ३० हजार र तृतीय हुनेलाई २० हजार पुरस्कार प्राप्त गर्नेछन् । महिलातर्फ सोही इभेण्टमा विजेतालाई ३५ हजार, उपविजेतालाई २५ हजार र तृतीय हुनेलाई १५ हजार पुरस्का प्रदान गरिने आयोजकले जनाएको छ ।
मनाङको ३७ हजार मिटरमा गरिने याक्रु एन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता विश्वमै चर्चित भइसकेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि बनिसकेको र गाडीको सुविधासमेत भएकाले पोखरामा अब नियमित प्रतियोगिता गर्नुपर्छ भनेर गरिएको निर्देशक शर्माको जानकारी दिए ।

पोखरा महानगर प्रमुख धनराज आचार्यले आर्बा–विजयडाँडाको रुट अन्तर्राष्ट्रियस्तरमै उपयुक्त भन्ने भएको र अब वर्षमा सकेसम्म २ वटा नत्र एउटा स्थानीय सरकारकै सहकार्यमा गर्ने प्रतिवद्धता जनाए ।
पोखरालाई खेल पर्यटनको राजधानीका रुपमा विकास गर्नका लागि खेलकुद प्रतियोगितालाई सहयोग गरेको मेयर आचार्यको भनाइ छ । पोखरा–१३ का वडाध्यक्ष किरण बरालले स्थानीयको सहयोगकै कारण आर्बामा यो प्रतियोगिता सफल भएको बताए ।

वडाध्यक्ष बरालले पोखराको अन्य वडाले विकासको फड्को मारिसक्दा पनि पोखरा–१३ पछाडि परेको भन्दै अब यहाँको विकासमा मेयर आचार्यको भूमिकालाई हेरिरहेको भन्दै ध्यानाकर्षण गराए ।





