पोखरा
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कार्यालय खुलेको छ । विमानस्थलको उद्घाटनको झन्डै वर्ष दिनमा बिहिबारदेखि अध्यागमन कार्यालय सञ्चालनमा ल्याइएको हो ।
गत वर्ष पुस १७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेसँगै पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएको थियो । तर, अध्यागमन कार्यालय भने थिएन ।
नेपाल सरकारका उपसचिव लिलाभल्लव न्यौपानेको नेतृत्वमा विमानस्थलमा अध्यागमन कार्यालय सञ्चालनमा छ । न्यौपानेका अनुसार २७ जनाको दरबन्दी छ । हाल १० जना कर्मचारी हाजिर भएर कार्यालय सञ्चालनमा ल्याएको उनको भनाइ छ ।
पोखरामा शनिबारदेखि हुने अन्तर्राष्ट्रिय माउन्टेन क्रस–कन्ट्री प्रतियोगिता सहभागि हुन चार्टड जहाजमामार्फत आउने चिनियाँ खेलाडी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा खुलेको अध्यागमन कार्यालयको पहिलो सेवाग्राही हुनेछन् । आज साँझ नै चिनियाँ खेलाडी पोखरा आउदैछन् ।
‘काठमाडौैं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयकै प्रकृतिमा पोखराबाट सेवा दिइनेछ’ अध्यागमन प्रमुख न्यौपानेले भने ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नियमित हुन सकेको छैन । चार्टड उडानमै सीमित छ । यहाँ पहिलो चार्टड उडान असार ६ गते चिनको छेन्दु सहरबाट सिचुवान एअरलाइन्सले गरेको थियो ।
गत असारमा पोखरामा भएको चाइना–नेपाल ड्रागन बोटरेस प्रतियोगितामा भाग लिने चिनियाँ खेलाडी र पाहुन उक्त विमानमा सवार थिए ।
प्रकाशित मिति २०८० मंसिर ८ गते शुक्रबार १०:२८




