पोखरा
शुक्रबार दिनभर पोखराको पृथ्वीचोक, रामबजार, बुद्धचोक अमरसिंहचोक, नयाँबजार वरपरका स्थानीयहरुको कानै खानेगरी एउटा कर्कश आवाजले सताइरह्यो । सडकमा कहिलेकाहीं तीव्र गतिमा कुद्ने मोडिफाइड मोटरसाइकलले निकालेजस्तो आवाज दिनभर आइरहेपछि आसपासका स्थानीयहरुमध्ये कतिपय त आवाज पछ्याउँदै पोखरा रंगशालासम्म समेत पुगे ।
त्यहाँ पुग्दा उनीहरुले टेलिभिजनमा हेर्दै आइएको तर, प्रत्यक्ष नदेखेको मोटरसाइकल दौड देखेर छक्क परे । १ सय ५० किलोमिटर प्रतिघण्टाभन्दा माथिको गतिमा एकपछि अर्को गर्दै कुदेका मोटरसाइकल हेर्दा उनीहरुलाई थाहा लाग्यो, यो त एउटा खेल पो रहेछ ।
न कुनै प्रचार, न कुनै जानकारी ! पोखरेलीलाई नै जानकारी नदिइकनै ‘फिस्टेल रेसिङ कप–२०२३’ का कारण पोखरा रंगशालामै जारी केपी ओली कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हेर्न पुगेका दर्शकसमेत अलमलिए ।

सधैं प्रवेश गर्ने रंगशालाको मुख्यद्वार बन्द गरिएको थियो । क्रिकेट ग्राउन्ड पुग्न सवारी साधनमा पुगेका दर्शकलाई रेसिङ कपका स्वयंसेवकले ६ नम्बर गेट प्रयोग गर्न भनिरहेका थिए । पैदल पुगेका दर्शकलाई पनि सरासर हिँड्ने अनुमति थिएन ।
शुक्रबार नै रंगशालाभित्र ‘आइटिएफ वल्र्ड टेनिस टुर जे–३०’ प्रतियोगिताबारे जानकारी दिन पत्रकार भेटघाटको आयोजना गरिएको थियो । पत्रकार नै रंगशाला छिर्न अलमलमा परे । पत्रकार सम्मेलनमा यो भद्रगोलबारे प्रश्न उठ्यो ।
समयमा सूचना दिन नसकेको र एकैपटक इभेन्टहरु जुधाएकोमा प्रदेश खेलकुद विकास समितिको आलोचना भयो । पत्रकार सम्मेलनका क्रममा कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोकबहादुर गुरुङले खुलेरै प्रदेश खेलकुद विकास समिति र ‘फिस्टेल रेसिङ कपको आलोचना गरे ।
‘यो अव्यवस्थिति अहिलेको होइन । हामीले टेनिस आयोजना गर्दा यसअघिसमेत कहिले ड्राइभिङले डिस्र्टब ग¥यो त कहिले मेलाले,’ गुरुङले भने, ‘टेनिस पिस इन्भाइरोमेन्टमा खेलिने खेल हो । यस्तो डिस्र्टवेन्समा खेलाडीहरुले खेल नै हापेर हिँडेको तितो अनुभव पनि हामीसँग छ ।’
अमेरिका, क्यानडा, रुस, जापानलगायत विभिन्न देशबाट खेलाडी, अभिभावक र अफिसियल गरि करिब ३ सय जना सहभागी हुने प्रतियोगितासँग रेसिङ इभेन्ट जुधाएर प्रदेश खेलकुद विकास समितिले आफूहरुलाई असहयोग गरेको गुरुङको गुनासो छ ।
यता, क्रिकेट ग्राउन्डमा खेल सकिएर बाहिरिने क्रममा एपिएफका खेलाडीहरुको गाडी रोकिएको, दर्शकले सहज आवागमनमा वाधा पुगेको भन्दै गुनासो गरेको क्रिकेट प्रतियोगिताका आयोजक शक्ति गौचनले गुनासो गरे । ‘हामीले बोल्यो भने अनेक अर्थ लाग्ला, तर रेसिङ इभेन्ट यही समयमा भएकाले हामीलाई अप्ठ्यारो परेको छ,’ उनले भने ।
खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दिनानाथ बरालले न कुनै पत्रकार सम्मलेन, न कुनै प्रेस रिलिज, न दर्शकहरुलाई कुनै जानकारी, बिना मेसै रेसिङ आयोजना गर्न दिएर प्रदेश खेलकुद विकास समितिले लापरवाही गरेको बताए ।
रेसिङ स्पोर्टस एसोसियसन नेपालका अध्यक्ष माइकल थापाले आफूहरुपनि खेल संघमा दर्ता भएको संस्था भएको र कानुनी रुपमा विधिवत सबै प्रक्रिया पूरा गरेर प्रतियोगिता आयोजना गरेको दाबी गरे । ‘हामीले सबै प्रक्रिया पूरा गरेका छौं । प्रदेश खेलकुद विकास समितिसँग पूर्वजानकारीसहितको समन्वय गरेर नै प्रतियोगिता आयोजना भएको हो,’ उनले भने ।

अन्य इभेन्टहरु जुधेको, दर्शकले सास्ती व्यहोरेको सन्दर्भमा खेलकुद विकास समिति जिम्मेवार बन्नुपर्ने उनको धारणा थियो ।
समन्वको कमजोरीका कारण भद्रगोलको स्थिति आएको प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव श्रीधर शर्माले बताए । ‘समन्वयका लागि जुन जुन इभेन्ट भइरहेको छ, ती खेल संघ र प्रतियोगिता आयोजकहरुपनि जिम्मेवार बन्नुपथ्र्यो, त्यो देखिएन,’ उनले भने, ‘दर्शक, खेलाडी वा रंगशाला प्रवेश गर्ने सवैलाई प्रतियोगिता जुधेको अवस्थामा कुन–कुन गेट प्रयोग गरी सम्बन्धित खेल क्षेत्रसम्म पुग्ने भन्ने जानकारी दिने दायित्व उहाँहरुको पनि हो ।’
शर्माले आफूहरुले समन्वय र जानकारीमा कमजोरी गरेको स्वीकारे । ‘हामीले पनि उहाँहरुलाई भन्नुपथ्र्यो र दर्शकहरुसँग जिम्मेवार बन्नुपथ्र्यो त्यहाँ कमजोरी भयो । समन्वयको कमि महसुस भएको छ । आगामी दिनमा त्यो सुधार हुनेछ,’ उनले भने ।
शनिबारदेखि क्रिकेट र टेनिस हेर्न चाहने दर्शकहरुले रंगशालाको ५ र ६ नम्बर गेट प्रयोग गर्न शर्माले अनुरोध गरे । उनले समन्वयका लागि स्वयंसेवकको व्यवस्था गरिने जानकारी दिए ।
स्वभाविक हो, रंगशालामा खेलकुदका धेरै इभेन्टहरु हुन्छन् । कहिलेकाहीं एकैपटक धेरै इभेन्टहरुपनि पर्न सक्छन् । तर, ती इभेन्टसम्म पुग्न चाहने खेलाडी, अफिसियल, दर्शक र अन्य सर्वसाधारणप्रति सम्बन्धित खेल संघ र प्रदेश तथा जिल्ला खेलकुद विकास समिति जिम्मेवार र जवाफदेहि बन्नैपर्छ ।





