पोखरा
पोखरा रंगशालाको क्रिकेट मैदानमा जारी केपी ओली कप टि–२० क्रिकेट प्रतियोगिताबाट गण्डकी प्रदेश बाहिरिएको छ । आइतबारको खेलमा लुम्बिनी प्रदेशसँग पराजित हुँदै गण्डकी बाहिरिएको हो ।
गण्डकी प्रदेशलाई लुम्बिनी प्रदेशले ५ रनले पराजित गरेको छ । लुम्बिनीले दिएको १०४ रनको लक्ष्य पछ्याएको गण्डकी १८ ओभर ५ बलमा ९८ रनमा समेटियो ।
गण्डकीका लागि सुदीप अर्यालले विष्फोटक पारी खेले पनि टिमलाई जित दिलाउन सकेनन् । अर्यालले २४ बलमा ३५ रनको उत्कृष्ट पारी खेले । गण्डकीका कप्तान बिपिन खत्रीले १९ रन, दीनेश बुढामगरले १३ र कमल परियारले ११ रनको योगदान दिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०३ रन बनाएको थियो । लुम्बिनीका लागि ध्रुव सुनार र नार सार्कीले २३\२३ रन बनाए । विराट भण्डारीले १६ र मिर्नल गुरुङले ११ रन जोडे ।
समूह ‘बी’मा गण्डकी, लुम्बिनीसहित सशस्त्र प्रहरी बलको एपीएफ क्लब थिए । तीनै टोलीले समान १ खेल जित्दै समान २ अंकल बटुले । रनरेटको आधारमा एपीएफ समूह विजेता बन्दै सेमिफाइनल यात्रा तय गर्न सफल भयो ।
आइतबार नै भएको दोस्रो खेलमा नेपाल पुलिस क्लबले विजयी विजयी सुरुआत ग¥यो । मधेश प्रदेशलाई ५७ रनले पराजित गर्दै पुलिसले सुखद सुरुवात गरेको हो ।
टस जितेर ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७५ रन बनायो ।
पुलिसका ओपनर ब्याटर कुशल भुर्तेलले १०२ रन बनाए । उनले ५७ बलमा ८ चौका र ७ छक्का प्रहार गरेका हुन् ।
अर्का ओपनर सुनिल धमलाले ४७ बलमा ४ चौका सहित ४५ रन बनाए । करण केसी १६ र कप्तान आरिफ शेख ६ रनमा अविजित रहे ।
पुलिसले दिएको १७६ रनको विजयी लक्ष्य पछ्याएको मधेश १८.२ ओभरमा ११८ रन बनाउँदै अलआउट भयो ।
सोमबार मधेस प्रदेशसँग सुदुरपश्चिमको टोली भिड्नेछ । त्रिभुवन आर्मी क्लबसँग आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमी ‘निलो’ ले प्रतिस्पर्धा गर्नेछ ।
प्रकाशित मिति २०८० मंसिर १० गते आइतबार ०६:०१




