२०८३ साउन २१ गते बिहीबार

मुख्य समाचार

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न बन्यो अध्ययन समिति

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न बन्यो अध्ययन समिति

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० मंसिर १२ गते मंगलबार ०५:२१

पर्यटकीय राजधानीको रुपमा विकास र घोषणा गर्न विस्तृत अध्ययन गरी ३० दिनभित्र प्रतिवेदन बुझाइने

सधैं चर्चामै सीमित बनेको विषय फेरि एक पटक सतहमा

पाेखरा

प्रधानमन्त्री, मन्त्रीदेखि नेतासम्मको आश्वासन र निर्णय भएर पनि चर्चामै सीमित बन्न पुगेको पोखरालाई पर्यटकीय राजधानी बनाउने विषय फेरि एक पटक सतहमा आएको छ ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष कृष्णचन्द्र देवकाटाको संयोजकत्वमा अध्ययन समिति गठन गरेका हुन् ।

पोखरालाई पर्यटकीय राजधानी बनाउन विकास गर्न आवश्यक पर्यटकीय पूर्वाधार तथा सेवाको गुणात्मकता वृद्वि गर्ने विज्ञसहित ११ सदस्यीय समिति गठन भएको हो ।

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव कुमानसिंह गुरुङका अनुसार पर्यटकीय राजधानीको रुपमा विकास गर्ने सम्बन्धी संक्षिप्त अवधारणापत्र पनि तयार भएर यसअघि नै राजपत्रसमेत प्रकाशित भइसकेको छ । सोही अवधारण पत्रलाई कार्यान्वयनमा ल्याउने र तयारी गर्न समिति गठन भएको हो ।

समितिले पर्यटकीय गन्तव्यहरुको पहिचान, विकास तथा प्रचारप्रसार र विद्यमान पर्यटकीय पूर्वाधारहरुको विकास तथा विविधीकरण गरी पोखरालाई नेपालको पर्यटकीय राजधानीको रुपमा विकास र घोषणा गर्न विस्तृत अध्ययन गरी ३० दिनभित्र प्रतिवेदन बुझाउन समितिको कार्य क्षेत्र तोकिएको छ ।

आवश्यक पूर्वाधारहरुको पहिचान गर्ने, सेवाको गुणात्मकता बृद्वि गर्न अवलम्बन गर्नुपर्ने विषयको पहिचान गर्ने, आवश्यक मापदण्डहरुको पहिचान गर्ने, पर्यटकीय राजधानी घोषणा गर्ने प्रक्रियाहरु पहिचान गर्ने, संघ सरकारसँग समन्वय गर्ने र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अध्ययन प्रतिवेदन पेश गर्ने जिम्मेवारी समितिलाई दिइएको छ ।

यो समितिले जनवरीभित्रै पोखरालाई पर्यंटकीय राजधानी बनाउने गरी काम गर्ने पोखराका मेयर धनराज आचार्यले बताए । पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले संघले तलको निर्णय नसुन्ने तत्र पोखरा आएर हुन्न नभन्ने गरेको बताए ।

पोखरालाई पर्यटकीय राजधानी बनाउने विषय धेरै वर्षदेखि नै उठ्दै आएको हो । पृथ्वीसुब्बा गुरुङ नेतृत्वको गण्डकी सरकारको मन्त्रिपरिषदको बैठकबाटै २८ मंसिर २०७५ मा निर्णय गरेर संघसँग अनुमति मागेको थियो ।

कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको मन्त्रिपरिषद बैठकले २०७८ कात्तिक २९ गते फेरि पोखरालाई पर्यटकीय राजधानी बनाउन संघीय सरकारलाई अनुराध गर्ने निर्णय नै गरेको थियो । तर, चर्चामै सीमित हुन पुगेको थियो ।

मेयर धनराज आचार्यले त पहिलो निर्णय नै पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने गरेका थिए । मेयर आचार्य मेयर भएलगत्तै गत साल जेठ १२ गते पोखरालाई पर्यटकीय राजधानी बनाउन लिखित रुपमा पठाउने निर्णय भएको थियो ।

प्रकाशित मिति २०८० मंसिर १२ गते मंगलबार ०५:२१
हजुरको प्रतिक्रिया