पोखरा । स्टार स्पिनर सन्दीप लामिछानेकाे कप्तानीमा रहेकाे बागमती प्रदेशलाई ४ विकेटले पराजित गर्दै त्रिभुवन आर्मी क्लब पोखरामा जारी केपी ओली कप टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बागमतीले दिएको १ सय २८ रनको लक्ष्य आर्मीले ६ विकेट गुमाएर ३० बल अगावै पूरा गर्यो । आर्मीका लागि भीम सार्कीले ३५ बलमा सर्वाधिक ३९ रन जोडे । कुशल मल्लले ४ छक्काकाे मद्दतमा २७ रन, कप्तान बिनाेद भण्डारीले २५, साेमपाल कामीले १५ रन जाेडे भने राजेश पुलामीमगर १ रनमा अविजित रहे ।
बलिङतर्फ बागमतीका कप्तान सन्दीप लामीछानेले २, प्रतिश जिसीले १, इशान पाण्डे, रित गौतम र सोनु देवकोटाले १-१ विकेट लिए ।
पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ राेजेकाे बागमतीका ब्याट्सम्यानले आर्मीका बलरसामु खुलेर खेल्न सकेन् । बागमतीले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२७ रनकाे मध्यम चुनाैती खडा गर्याे । बागमतीकाे शुरूवाती ब्याट्सम्यानहरूले लय पक्रन सकेनन् । बागमतीका लागि ओपनर शुभ कंशाकार ३, रित गाैतम १४ रनमा समेटिए । मध्यक्रमका ब्याट्सम्यानहरू इशान पाण्डे १२, राेशन विक १ गाैरब खड्का ८ र प्रतिस जिसी शुन्यमा पवेलियन फर्केपछि बागमतीकाे ब्याटिङ लाइनअप धर्मराएकाे थियाे ।
बागमतीका लागी प्रतीक श्रेष्ठले ३५ बल खेल्दै ३ चाैका र ४ छक्काकाे मद्दतमा सर्वाधिक ५० रन बनाए । प्रतीकसँगै कप्तान सन्दीप लामिछानेले १९ रन जाेडेर टाेलीलाइ मध्यम स्काेरसम्म उकासेका थिए । बागमतीका लागि सोनु देवकोटाले अविजित रहँदै ९ रन जाेडे ।
बलिङतर्फ आर्मीका साहब आलमले सर्वाधिक ४ विकेट लिएका थिए । ४ ओभर बलिङ गरेका आलमले १ मेडनसहित १४ रन खर्चेर ४ विकेट लिन सफल भए । सोमपाल कामी २ र विवेक यादवले १ विकेट लिएका हुन् ।
खेलकाे प्लेयर अफ द म्याच साहब आलम रहे ।
आर्मीले उपाधिका लागि मधेश प्रदेश र सशस्त्र प्रहरी बल (एपीएफ) बीचको विजेतासँग खेल्नेछ । फाइनल खेल शुक्रबार बिहान ११ बजेपछि हुने आयाेजकले जनाएकाे छ ।
प्रकाशित मिति २०८० मंसिर १४ गते बिहीबार ०३:०३




