पोखरा
माछापुच्छ्रे गाउँपालिकाले लोक्याम्पबाट पर्यटकसँग शुल्क उठाउन थालेपछि मर्दी पदमार्ग क्षेत्रका व्यवसायी रुष्ट बनेका छन् । गाउँपालिकाको कदमले पर्यटनमा गम्भिर असर गरेको उनीहरुको ठहर छ ।
मर्दी ट्रेक पर्यटन व्यवस्थापन तथा व्यवसायी समितिले गम्भिर आपत्ति जनाउदै गाउँपालिकाको ध्यानाकर्षणसमेत गराएको छ । दोहोरो कर प्रणालीले गर्दा पर्यटकको आगमनमा कमी आएको समिति अध्यक्ष राजकुमार तामाङले बताए । उनका अनुुसार गाउँपालिकाले भन्दा पहिले एक्यापलाई र टिम्स बापतको शुल्क पर्यटकले बुझाउदै आइरहेको थिए ।
गाउँपालिकाले पनि शुल्क उठाउन थालेपछि तेहेरो मारमा पर्यटक परेको उनले बताए । मर्दीलगायतका पदयात्रामा आउने विदेशी पर्यटकसँग पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) ले संयुक्त रुपमा पदयात्रा सूचना प्रणाली (टिम्स) बापत विदेशी पर्यटकसँग शुल्क लिन्छ। टिम्सबापत सार्क देशका पर्यटकले १ हजार र सार्कबाहिरका विदेशी पर्यटकले २ हजार रूपैयाँ लिने गरेको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पनि यहाँका पदमार्गमा प्रवेश शुल्कको नाममा रकम असुल्छ । एक्यापले सार्क देशका पर्यटकसँग १ हजार रुपैयाँ र सार्क बाहिरका विदेशी पर्यटकसँग ३ हजार रूपैयाँका दरले प्रवेश शुल्क लिने गरेको छ ।
गाउँपालिकाले कात्तिक १७ गतेदेखि स्वदेशी र विदेशीबाट पर्यटकसँग शुल्क उठाउन थालेको छ । विदेशी पर्यटकसँग ५ सय रुपैयाँ र नेपाली पर्यटकसँग १ सय रुपैयाँ शुल्क गाउँपालिकाले लिन्छ ।
कर प्रणाली लागु भएपछि पर्यटकको संख्या घटेको अध्यक्ष तामाङले बताए । ‘पहिले औसत २५० आन्तरिक पर्यटक र १५० विदेशी पर्यटक आउथे । शुल्क लिन थालेपछि पर्यटक आगमन दिनानुदिन घट्दै गइरहेको छ । बुकिङसमेत रद्ध भएको छ’, उनले भने ।
एक्याप र स्थानीय सरकारले व्यवस्थापनमा हालसम्म कुनै ठोस कदम नचालेको उनको गुनासो छ ।
मर्दी पदमार्ग र खुमैं कोर्चाङ पदमार्गमा जाने पदयात्रीबाट १ महिनाकै अवधिमा १२ लाख रुपैयाँ बढी शुल्क उठाएको गाउँपालिका सदस्य राम गुरुङले जानकारी दिए ।
उनका अनुसार माछापुच्छ्रे मोडल ट्रेलको मर्दी हिमाल हुमाल (लोक्याम्प) मा र खुमैं–कोर्चाङ पदयात्राका लागि लुब्रकुमा शुल्क उठाउने थालिएको छ । ‘पदयात्रीबाट प्रवेश शुल्क उठाउन थालेपछि आधिकारिक विवरण प्राप्त गर्न पनि सहज भएको छ’, उनले भने ।
उठाइएको प्रवेश शुल्क प्रत्येक १५ दिनमा पालिकाको बैंक खातामा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ ।
उठाएको शुल्क पूर्वाधार निर्माणमा खर्चने गाउँपालिकाले जनाएको छ । असारको गाउँसभाले पारित गरेर हालैको कार्यपालिका बैठकबाट निर्णय भएपछि शुल्क उठाउन थालिएको हो ।
गाउँसभाबाट पारित आर्थिक ऐन २०८० को अनुसूची ६(७)अनुसार गाउँपालिकाले पदयात्रीबाट शुल्क उठाउन लागेको हो । मर्दी हिमालमा वार्षिक अनुमानित ३५ हजार पदयात्री पुग्छन् ।
संकलित रकमबाट ठाउँठाउँमा फोहोर डस्टविन, पर्यटक सूचना केन्द्र र पर्यटक प्रहरीको व्यवस्थापन गर्ने गाउँपालिकाको योजना छ ।
प्रकाशित मिति २०८० मंसिर १७ गते आइतबार ०२:२९




