पोखरा
नेपाली भाषामा बनेको फिल्म ‘हिटम्यान’ ले प्रदर्शन भने १६ भाषामा गर्ने भएको छ । फिल्मका नायक तथा निर्देश विष्णु अधिकारीले १६ भाषामा विश्वभर प्रदर्शनको तयारी भएको जानकारी दिए ।
उनका अनुसार फिल्म नेपालीसँगै हिन्दी, तेलुगू, तमिल, कन्नडा, मलायलम, अरबी, चिनियाँ लगायतका भाषामा प्रदर्शन हुनेछ । नेपालका काठमाडौं पोखरासहित भारत, श्रीलंका, दुवइ र फ्रान्समा खिचिएको हो ।
थ्रिलर जनराको यो फिल्म ओटिटी प्लेटफर्म अमेजनमा प्रदर्शन हुनेछ । ‘अमेजन प्राइममा रिजिल हुने पहिलो नेपाली फिल्म हुनेछ’, उनले भने ।
आउदो फेब्रुअरी १५ मा विश्वव्यापी प्रदर्शन हुने फिल्मको पोस्टर र टिजर सार्वजनिक भइसकेको छ । हिटम्यानमा विष्णु अधिकारीसँगै नायिका आँचल शर्मा र प्रशान्त ताम्राकारको अभिनय छ । नेपाल–भारत संयुक्त लगानीमा निर्माण भएको फिल्म ‘हिटम्यान’को टिजरमा भने आँचललाई देखाइएको छैन ।
दक्षिण भारतीय सिनेमा रुचाइरहेका नेपाली दर्शकले हिटम्यानलाई हिट बनाउने अधिकारीको विश्वास छ । ‘नेपालमा धेरै एक्सन मुभि बन्दैन । नेपाली दर्शकहरु साउथी मुभि रुचाउनुहुन्छ । नेपाली हिरोले साउथको जस्तो मुभि बनायो भनेर रुचाउँनुहुन्छ’, अपेक्षाकृत हुँदै उनले सुनाए ।
फिल्ममा नेपाल, भारत र पाकिस्तानको सामाजिक सम्बन्धलाई उठान गरिएको छ ।
नाइन्टी नाइन सिनेमाज र इस्ट एण्ड वेस्ट इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा दीपक अधिकारी निर्माता र सन्नी लावती सहनिर्माता छन् ।
प्रकाशित मिति २०८० मंसिर २१ गते बिहीबार ११:१७




