लोमान्थाङको पर्खालभित्रको सडक, पैदलमार्गमा ढुंगा बिछ्याइयाे
पाेखरा
माटोको पर्खालले घेरिएको मुस्ताङको धार्मिक एवं पर्यटकीय महत्वको लोमान्थाङको सडक र गल्लीमा ढुङ्गा छापिएपछि चिटिक्क परेको छ ।
सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङको पर्यटकीय सहर तथा बस्ती पुनःउत्थान कार्यक्रमअन्तर्गत लोमान्थाङको पर्खालभित्रको सडक, पैदलमार्ग र गल्लीमा ढुंगा बिछ्याइएको हो ।
संघीय सरकारले गत वर्षदेखि सुरु गरेको ढुंगा छपान कार्य प्रभावकारी बनेपछि चालु आर्थिक वर्षमा प्रदेश सरकार र गाउँपालिकाले ऐतिहासिक र सांस्कृतिक बस्ती लोमान्थाङलाई थप आकर्षित बनाउन उक्त योजनालाई पूर्णता दिएको लोमान्थाङ गाउँपालिका–५ का वडाध्यक्ष ढुढुके विष्टले बताए ।
ढुङ्गा छपान गरेपछि मौलिकताको संरक्षणसँगै धुलो उड्ने र हिलो हुने समस्या हटेर सफा सुग्घर बनेको छ । यसअघि बस्तीभित्र छपाएको ढुङ्गा उप्किएका थिए । कतिपय ठाउँमा ढुङ्गा छपाइएको थिएन ।
आयोजनामार्फत आव २०७९/८० मा लोमान्थाङ बस्तीभित्र ढुङ्गा छपानका लागि करबाहेक रू एक करोड २७ लाख छ हजार पाँच सय छ मा ठेक्का सम्झौता भएको विष्टले जानकारी दिए ।
उक्त ठेक्कामार्फत चार हजार ४४ दशमलव २५ वर्गमिटर क्षेत्रफलमा स्लेट ढुङ्गा छपान भएको आयोजनाका इन्जिनियर योगेन्द्र वस्ताकोटीले बताए । उनका अनुसार चालु आर्थिक वर्षमा ढुङ्गा छपानका लागि गाउँपालिकाले ७० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालय मुस्ताङमार्फत कार्यान्वयन हुनेगरी लोमान्थाङ बस्तीभित्रको सडक ढलान गर्न चालु आर्थिक वर्षमा पाँच करोड ५० लाख विनियोजन भएको गाउँपालिकाका अध्यक्ष टसी नर्वु गुरुङले जानकारी दिए ।
लोमान्थाङ स्वागत गेटबाट लोमनथाङ वाल वरिपरि ढलान बाटो निर्माणका लागि दुई शीर्षकमा पाँच करोड र अर्को ऐतिहासिक गाउँ वरपर पक्की सडक शीर्षकमा ५० लाख रुपैयाँ बजेट विनियोजन भएको मन्त्रालयले जनाएको छ ।
केही दिनअघि लोमान्थाङ पुगेर फर्कनुभएका प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय महत्त्वको लोमान्थाङ बस्तीलाई व्यवस्थित बनाउन मन्त्रालयले प्राथमिकता दिएको बताए ।
प्रकाशित मिति २०८० मंसिर २३ गते शनिबार ०४:२५




