२०८३ साउन २१ गते बिहीबार

पुम्दीकोटमा सुमेरु पर्वत (फोटो फिचर)

पुम्दीकोटमा सुमेरु पर्वत (फोटो फिचर)

विनोद ढुंगाना

@Public 4K Tv

२०८० मंसिर २४ गते आइतबार ११:०८

दक्षिणतर्फ फर्किएको विशाल महादेवको मुर्तिसँग आमानेसामने हुने गरेर सुमेरु पर्वत निर्माण गरिएको हो ।

पोखरा

पोखरा आएका आन्तरिक र बाह्य पर्यटकको सर्वाधिक रोजाइमा छ पुम्दीकोट । पोखरा आएका पर्यटक १ घण्टाको सवारी यात्रा गरेर पुम्दीकोट पुग्नु आजभोलि अनिवार्य जस्तै छ ।

पृष्ठभूमिमा अन्नपूर्ण हिमश्रृंखला, काखमा फेवाताललाई राखेर सिंहासनमा बसेको ५१ फिट अग्लो विशाल महादेवको मुर्तिले पोखरा महानगरपालिका–२२ पुम्दीकोटमा पर्यटक लोभ्याएको हो ।

कुनैबेला सुनासान पुम्दीकोटले पर्यटकीय पूर्वाधार निर्माणपछि स्वरुप फेर्दै पर्यटकले गुज्लार हुँदा नयाँ आकर्षण थपिएको छ । दक्षिणतर्फ फर्किएको विशाल महादेवको मुर्तिसँग आमानेसामने हुने गरेर सुमेरु पर्वत निर्माण गरिएको हो ।

समेरु पर्वतमा मन्दिरसँगै पार्वती र कुमारको मूर्ति निर्माण गरिएको छ । पुम्दीकोट उक्लेका पर्यटकलाई सुमेरु पर्वत नयाँ प्रडक्ट बनेको छ । पार्वती र कुमारको मुर्तीलाई पृष्ठभूमिमा राखेर तस्बिर खिचाउन व्यस्त देखिन्छन् ।

सुमेरु पर्वत निर्माणमा हालसम्म २ करोड रुपैयाँ खर्च भएको पुम्दीकोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए । उनका अनुसार सुमेरु पर्वतको काम सक्न ५ करोड रुपैयाँ लाग्नेछ ।

‘प्रोजेक्टरमार्फत गरिने लाइटिङमा २ करोड ५४ लाख लाग्नेछ’, उनले भने । हलको इको साउण्ड व्यवस्थापनमा ४२ लाख रुपैयाँ लाग्नेछ ।

महादेवको मुर्ति रहेको स्थानबाट सुमेरु पर्वतसम्म विद्युत्तीय चियर कार सञ्चालन गर्ने योजना रहेको बरालले बताए ।

६० को दशकमा पुम्दीकोटको पारिपट्टि सराङकोट डाँडामा विदेशी पाहुनाको धुईरो लाग्दा पुम्दिकोटबाट बसाइ झर्नेको लहर चल्यो । सराङकोट र पुम्दीकोट बीचको फेवातालमा पर्यटक उस्तै ओइरिन्थे । तर, पुम्दीकोटले त्यो दृश्य नियाल्नुको विकल्प थिएन ।

बसाँइसराइ रोक्दै पर्यटक डाक्न डाँडामा भ्युटावर ठडियो । गाउँलेको सक्रियतामा ठडिएको भ्युटावरले छिटफुट विदेशीलाई तान्यो । सोचे जस्तो पर्यटक नआएपछि सुरु भएको थियो विशाल महादेवको मुर्तिसहितको धार्मिक गन्तव्य बनाउने योजना ।

पुम्दीकोट क्षेत्रको विकास गर्न २०७३ र २०७९ सालमा महायज्ञ सञ्चालन गरिएको थियो । महायज्ञबाट ९ करोड ३० लाख रुपैयाँ नगदसहित ३० रोपनी जग्गा दानमा प्राप्त भयो ।

अध्यक्ष बरालका अनुसार सुरुमा पुम्दीकोट विकासमा २० करोड रुपैयाँको गुरुयोजना बनाइएको थियो । अहिले लागत दोब्बरले बढेर ४० करोड पुगेको उनले जानकारी दिए । हालसम्म २७ करोड रुपैयाँ लगानी भएको छ । विकास समितिले १ करोड रुपैयाँ ऋणको भार बोकेको छ । गुरुयोजना अनुसार काम सक्न संघ, प्रदेश र स्थानीय सरकारसँग मात्रै नभएर आउने भक्तजनबाट पनि दान संकलन भइरहेको छ ।

अहिलेसम्म ५१ फिट अग्लो महादेवको मुर्ति, ३१ फिट अग्लो डमरु, गंगा पोखरी, १०८ धारा जडित तेस्रो आँखा, २१६ शिवलिंग, १०८ सिंढी स्वर्गाद्वारी, शिव ताण्डव नृत्य, अन्तर्राष्ट्रिय ध्यान केन्द्र, मोनोरेलद्वारा महादेव मुर्तिमा गणेशको परिक्रमा, प्रशासनिक भवन, व्यवसायिक सटर लगायतका संरचना निर्माण भइसकेको छ । चियर कार, ग्रिनरी पार्क, पार्किङस्थलको काम बाँकी हो ।

‘मूल मुर्ति लगायतका अधुरा काम सम्पन्न हुनै बाँकी छ । पोखरा आउने पर्यटकको कम्तीमा पनि १ दिनको बसाइ लम्ब्याउने उदेश्य अनुसार साँझको समयमा लेजर लाइटमार्फत महादेवको मुर्तीलाई पर्दा बनाइ शिव ताण्डव नृत्य देखाउनेछौं’, उनले सुनाए ।

  

 

प्रकाशित मिति २०८० मंसिर २४ गते आइतबार ११:०८
हजुरको प्रतिक्रिया