'भाषणमामात्र सिंहदरबार घरघर पुर्याउँछौं भनेर प्रदेशलाई अधिकार दिनेबारे बोलिएन'
पाेखरा
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानमा लेखेकै कारण कांग्रेसले संघीयता स्वीकारेको हो कि साँच्चैकै मनैदेखि स्वीकारिएको हो भन्दै प्रश्न गरेका छन् ।
अहिले संघीयता र त्यसमा पनि प्रदेश सरकारमाथि चौतर्फी प्रहार भइरहेको मुख्यमन्त्री पाण्डेले बताए । नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रथम सम्मेलनमा बोल्दै केन्द्रीय सदस्यसमेत रहेका पाण्डेले संघीयताबारे अब सबै दल र सांसदले पनि स्पष्टसँग जवाफ दिनुपर्ने मुख्यमन्त्री पाण्डेको भनाइ छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा, विश्वप्रकाश शर्मा र संघीय सांसदहरुलाई इंगित गर्दै पाण्डेले तपाईंहरुको नालायकीका कारण प्रदेशले सडकमा गाली खानुपरेको भन्दै आक्रोस् पोखे ।
संघले कानुन नबनाउएँदा प्रदेशले कानुन बनाउन तथा काम गर्न नसकेको र प्रदेशले नबनाउँदा स्थानीय तहले काम गर्न नसकेको पाण्डेको भनाइ थियो । मुख्यमन्त्री पाण्डेले भाषणमा सिंहदरबार घरघर पुर्याउँछौं भनेर भने पनि प्रदेश सरकारलाई अधिकार दिने सवालमा संघीय सांसद पनि नबोलेको बताए ।
अधिकारकै सन्दर्भमा यही १३ गते प्रदेशका मुख्यमन्त्रीहरुको बैठक पनि राखिएको र यो विषयमा स्पष्टसँग कुरा राख्ने पनि मुख्यमन्त्री पाण्डेले बताए । यदीसंघीयता हुँदैनथ्यो र प्रदेश सरकार हुँदैनथ्यो भने जनताले आफ्ना गुनासा प्रदेश सरकारका प्रमुखलाई सुनाउने अवसर प्राप्त नहुने उनको भनाइ थियो ।
मुख्यमन्त्री पाण्डेले ८ महिनामा कांग्रेस कार्यकर्ताले सडकमा हिँड्दा शीर झुकाउनुपर्ने एउटा पनि काम नगरेको र अब पनि नगर्ने प्रतिवद्धता समेत जनाए ।
प्रकाशित मिति २०८० पुस ३ गते मंगलबार ०८:४२




