पोखरा
वीरबहादुर मगरले पोखरामा ट्याक्सी चलाउथे । ३५ वर्षअघि लमजुङबाट झरेर ट्याक्सी चलाउन थालेका उनको कमाइले जेनतेन परिवारको गुजारा चल्थ्यो ।
कहिलेकसो २/४ हजार बचाउँथे । जीवनभरको दुखले आर्जेको कमाइबाट केही वर्षअगाडि लेखनाथको सिशुवामा घडेरी किने । घडेरी किनेपनि घर बनाउन सक्ने कमाइ भएन ।
जग्गा भएर मात्रै खान लाउन नपुग्ने भएपछि उनलाई लाग्यो, ‘जग्गाले महिनैपिच्छे पैसा दिदैन । बेचेर बैंक, सहकारीमा पैसा राखेपछि महिनैपिच्छे ब्याज आउछ । घरखर्च धान्न सजिलै हुन्छ ।’
जग्गा बेचेको रकम बचत गर्न उनलाई सूयदर्शन बचत तथा ऋण सहकारी संस्थाको आकर्षक व्याजदरले तान्यो । उनले सूर्यदर्शनमा खाता खोलेर सुरुमा १० लाख रुपैयाँ जम्मा गरे । सहकारीले ब्याज घरमै ल्याइदिन्थ्यो ।
सहकारीले नयाँ नयाँ अफर दिदैं बचतकर्तालाई हौस्याउन थाल्यो । ‘साढे २ लाख रुपैयाँ बचत गर्दा ५ वर्षमा डबल हुन्छ’, यस्तै यस्तै स्किम देखाएर सहकारीले प्रलोभनमा पा¥यो ।
१० लाख रुपैयाँको नियमित ब्याज पाइरहेका थिए । ब्याजले घरखर्च चलाउन सजिलो भएपछि सहकारीसँग सहकार्य भएको सम्झन्थे उनी । अझै लोभ्याउने आकर्षक स्किम पाएपछि उनले १३ लाख रुपैयाँ थपेर बचत गरे ।
पछिल्लो डेढ वर्ष यता सहकारी संकटमा फस्यो र साँवा ब्याज फिर्ता गर्नै नसक्ने अवस्थामा पुग्यो । त्यसपछि वीरबहादुरलाई तनावको भारीले थिच्न थाल्यो ।
तनावको भारीले यतिसम्म थिच्यो कि उनलाई सुगर प्रेसरको बिरामी मात्रै बनाएन कहिल्यै नउठ्ने गरेर ढलायो । माटो (जग्गा) बिक्री गरेर बचत गरेको रकमले उनलाई माटोमै विलिन गराएको छ ।
वीरबहादुरको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा शुक्रबार निधन भएको हो । प्रेसरले च्यापेपछि उनलाई बिहिबारमात्रै अस्पताल भर्ना गरिएको थियो ।
सहकारीले दिएको तनावले शोकमा डुब्नु परेको श्रीमति भगवती बताउँछिन् ।‘हे भगवान यस्तो त कसैलाई नपरोस् । यस्तो बर्बाद बनाइदियो ज्यानमारा सहकारीले’, उनले मुर्छा पर्दै भनिन् । सूर्यदर्शन सहकारीले बचतसँगै श्रीमानको ज्यान लिएको उनको भनाइ छ ।
‘न २/३ रात अस्पताल राखेको बिरामी भन्नु न विस्तारमा सुतेको बिरामी भन्नु’, सहकारीसँगको असन्तृष्टि पोख्दै उनले थपिन्, ‘अर्कालाई मारेर खाएको जिन्दगीभर भलो हुन्न ।’
भगवतीका अनुसार पैसा पाउने आशमा श्रीमान धेरै पटक सहकारी धाए । सहकारी बन्दभएपछि पीडितको हरेक जसो बैठक र आन्दोलनमा सहभागी हुन्थे ।
पैसा फिर्ता नपाएपछि दिमागमा नानाथरी कुरा खेलिरहेको वीरबहादुरले भगवतीलाई कहिलेकसो सुनाउथे । ‘के गर्ने खोइ ? पैसा फिर्ता दिन्छन् कि नाई । पाखुरा बजारेको मेहनतको पसिना हो । आज छोराछोरीलाई लाउन दिन खान दिन सकिनँ’, वीरबहादुरले सुत्ने बेला सुर्ता गर्थे ।
घरमूलीको मृत्यु भएपछि अहिले परिवारमा झनै चिन्ता थपिएको छ । वीरबहादुरको श्रीमति, छोरा, बुहारी र छोरी पोखराको घारीपाटनमा भाडाको घरमा बस्छन् । दुख टार्न सहकारीमा राखिएको रकम फिर्ता नपाउँदा १ वर्ष पुग्यो घर भाडा तिर्न नसकेको । महिनाको १२ हजार रुपैयाँको दरले तिर्नुपर्छ । त्यै चिन्ताले घरमूलीको ज्यान लिएको परिवारको ठम्याइ छ ।
सहकारी संकटमा फसेर बचत फिर्ता नदिएपछि वीरबहादुरले असाध्यै चिन्ता लिन गरेको सूर्यदर्शन सहकारीपीडित संघर्ष समिति संयोजक किरण श्रेष्ठले बताए । उनका अनुसार सहकारीको तनावले उनलाई रोगी बनायो ।
‘उहाँलाई रोग सूर्यदर्शनले गर्दा आयो । केही नभएको मान्छे सूर्यदर्शनमा पैसा फसेपछि प्रेसर भो । तनाव भो, प्रेसरले हान्यो’, उनले भने ।
काजकिरिया गर्ने खर्चसमेत नभएपछि सूर्यदर्शन सहकारीबाट पीडित भएकाले नै चन्दा उठाएर सहयोग गरेको श्रेष्ठ बताउँछन् ।
कर्मचारी र पत्रकारलाई तलब खुवाउन नसक्ने भएपछि बन्दको अवस्थामा पुगेको ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालकसमेत रहेका गितेन्द्रबाबु (जीबी) राईको समूहले खोलेको सूर्यदर्शन सहकारीले पोखरेली बचतकर्ताको झन्डै डेढ अर्ब रकम हिनामिना गर्दै बचतकर्ताको बिचल्ली पारेको छ ।
पोखरा महानगरपालिकाले गरेको अध्ययनमा सहकारीले १ अर्ब ३५ करोड ५३ लाख ८२ हजार रुपैयाँ हिनामिना गरेको भेटिएको छ ।
१ हजार ३५ जना बचतकर्ताले १ अर्ब ११ करोड रुपैयाँ दाबी गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी आएको सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।
२०६७/६८ सालमा दर्ता भइ सञ्चालनमा आएको सूर्यदर्शनले सुरुमा सभागृह चोकबाट सेवा दिएको थिथो । पछिल्लो समय कार्यालय नालाकोमुखमा स¥यो । गत वर्षको साउनदेखि बचतकर्ताको रकम फिर्ता हुन छाडेको हो ।
सहकारीका सञ्चालक गितेन्द्रबाबु राई (जीबी) सहित १९ जना विरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । हालसम्म २ जना मात्रै पक्राउ परेका छन् ।
सहकारीका कोषाध्यक्ष कुमार रम्तेल र उपाध्यक्ष कैलाशकुमार दर्लामीलाई मात्रै प्रहरीले पक्राउ गर्र्न सफल भएको हो । रम्तेल भदौ अन्तिममा र दर्लामी बिहिबार पक्राउ परेका हुन् । रम्तेल अहिले पुर्पक्षका लागि थुनामा छन् ।
प्रकाशित मिति २०८० पुस १५ गते आइतबार ०६:५४




