२०८३ साउन २१ गते बिहीबार

सूर्य दर्शन सहकारी ठगी प्रकरणः महेन्द्र भोटे र भविश्वर कारागार चलान

सूर्य दर्शन सहकारी ठगी प्रकरणः महेन्द्र भोटे र भविश्वर कारागार चलान

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० पुस १८ गते बुधबार ०५:३१

डेढ अर्ब रकम अपचलन गरेको उजुरीका आधारमा जीवी, महेन्द्र भोटेसहित १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएकाेमा ४ जना थुनामा

सूर्य दर्शन सहकारी ठगी प्रकरणमा जीवीसहित १५ जना अझै फरार

पाेखरा

सूर्य दर्शन सहकारी ठगी प्रकरणमा पूर्व सञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे) र भविश्वर अर्याल पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

मंंगलबार अदालतमा उपस्थित भएका भएका महेन्द्र र भविश्वरलाई कास्की जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । गत भदौ २४ गते पक्राउ पुर्जी जारी भएपछि उनीहरु फरार थिए ।

मंगलबार बयान गराएर बुधबार भएको थुनछेक बहसपछि न्यायाधीश वसन्तजंग थापाको इजलासले महेन्द्र र भविश्वरलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

पोखरामा गितेन्द्र (जीवी) राइको समूहले खोलेको सूर्यदर्शन सहकारीमार्फत बचतकर्ताको झण्डै डेढ अर्ब रकम अपचलन गरेको उजुरीका आधारमा जीवी, महेन्द्र भोटेसहित १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

प्रहरीले पक्राउ पुर्जी जारी गरेको भोलिपल्टै भदौ २५ गते पक्राउ परेका सूर्य दर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल पुर्पक्षका लागि थुनामै छन् ।

गत शुक्रबार काठमाडौंबाट पक्राउ परेको सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामीलाई पनि सोमबार अदालतले पुर्पक्षका लागि थुनामा राख्ने फैसला गरेको छ ।

सूर्य दर्शन सहकारी ठगी प्रकरणमा जीवीसहित १५ जना अझै फरार छन् ।

पूर्व अध्यक्ष जीबी, उनकै दाइ भूपेन्द्र, अहिलेका अध्यक्ष तथा व्यवस्थापकसमेत रहेका थानबहादुर बुढा, सञ्चालक धीरजकुमार दास, हेमन्त अधिकारी, प्रमोद भट्टराई, मनोज नकर्मी, सुरज श्रेष्ठ, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, दिनेश रोका, ललिता तामाङ अझै फरार छन् ।

लेखा अधिकृत सृष्टि मानन्धर, लोन अधिकृत बुद्धि गुरुङ पक्राउ पुर्जी जारी भएपछि फरार छन् ।

महेन्द्र भोटे एक कार्यकाल सञ्चालक समिति सदस्य र एक कार्यकाल लेखा समिति सदस्य थिए । अर्याल पनि एक कार्यकाल लेखा समिति सदस्य थिए ।

प्रकाशित मिति २०८० पुस १८ गते बुधबार ०५:३१
हजुरको प्रतिक्रिया