पोखरा
तेस्रो ऋषिङ अल्ट्रा म्यारथनको उपाधि त्रिभुवन आर्मी क्लबका धावक गोविन्द कार्कीले जितेका छन् ।
निर्धारित ४२.२ किलोमिटरको दूरी २ घण्टा ५९ मिनेट ४० सकेण्डमा पार गर्दै कार्की च्याम्पियन बनेका हुन् । म्याराथनमा सहभागी ५६ धावकलाई पछाडि पार्दै उनले उपाधिसँगै ६५ हजार रुपैयाँ हात पारे ।
राष्ट्रिय एकता दिवसको अवसरमा ऋषिङ गाउँपालिकाले आयोजना गरेको अल्ट्रा म्याराथनमा आर्मीका धावकले बर्चस्व कायम गरे । ३ घण्टा ४६ सेकेन्डमा दूरी पूरा गरेका आर्मीका गोपाल तामाङ दोस्रो भए ।
आर्मीकै तिलकबहादु सुनवारले ३ घण्टा ३ मिनेट १२ सेकेण्डमा दौड पूरा गर्दै तेस्रो स्थान हासिल गरेका छन् । दोस्रो र तेस्रोले क्रमशः ४० हजार र २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
काठमाडौंका कारण राउत, बैतडीका मोहनदेव जोशी, त्रिभुवन आर्मी क्लबका जुनेस खड्का र सशस्त्र प्रहरी बल एपीएफ क्लबका निरोज भट्ट सान्त्वना भएका छन् । सान्त्वना ४ जना धावकले जनही ५ हजार रुपैयाँ पाएका छन् ।
ऋषिङको धारुङ भञ्ज्याङबाट सुरु भएको म्याराथन ऋषिङ गाउँपालिकाको प्रवेशद्वार, अर्खलाछाप, भिरकोट अर्चल्दी हुँदै दुबुङकोट भ्युटावरमा पुगेर सकिएको हो । गत वर्ष त्रिभुवन आर्मी क्लवका तीर्थराज तामाङ ऋषिङ अल्ट्रा म्यारथन च्यम्पियन बनेका थिए ।
प्रकाशित मिति २०८० पुस २७ गते शुक्रबार ०२:११




