२०८३ साउन २१ गते बिहीबार

गीतकार शीतल कादम्बिनी सम्मानित

गीतकार शीतल कादम्बिनी सम्मानित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० पुस २८ गते शनिबार ०८:०२

कहाँ थियौ तिमी..., झुमा झुम्कावाली... लगायत चर्चित गीतका रचनाकार कादम्बिनी गजलकारका रूपमा समेत चर्चित छिन् ।

पोखरा । गीतकार शीतल कादम्बिनीलाई गीतकार सम्मान २०८० प्रदान गरिएको छ । गीतकार प्रतिष्ठान, नेपालको शनिवार पोखरामा सम्पन्न तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनका अवसरमा प्रतिष्ठानले नगद ५ हजार रुपियाँ, सम्मानपत्र र दोसल्लासहित सम्मान गरिएको हो ।

गीतकार तीर्थ श्रेष्ठ र प्रतिष्ठानका अध्यक्ष हरिहर खनियाले उनलाई सम्मान गरे । सम्मानित स्रष्टाको परिचय सहसचिव रुपिन्द्र प्रभावीले दिएका थिए । गीतकार सङ्घ, नेपालकी सचिवसमेत रहेकी उनले गीत र गीतकारको हितका लागि जुनसुकै संस्था भए पनि मिलेर कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राखिन् ।

गीतकार तीर्थ श्रेष्ठले गायक र सङ्गीतकारले मात्र गीतको श्रेय लिने परम्पराप्रति असन्तुष्टि जनाउँदै साङ्गीतिक क्षेत्र गीतकार आमा भएको धारणा राखे । उनले गीत गाउँदा मात्र गीत हुने नभई गीत लेखन र वाचन गर्दा पनि गीत रहने बताए ।

कहाँ थियौ तिमी…, झुमा झुम्कावाली… लगायत चर्चित गीतका रचनाकार कादम्बिनी गजलकारका रूपमा समेत चर्चित छिन् । उनले नेपाली गीत/गजलका क्षेत्रमा पुर्‍याएकी योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको सचिव अनुराग अधिकारीले जानकारी दिए ।

प्रतिष्ठानका अध्यक्ष हरिहर खनियाको अध्यक्षतामा भएको कार्यक्रममा लघुकथा प्रतिष्ठानका अध्यक्ष लक्ष्मण थापा, राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान, गण्डकीका अध्यक्ष राजन कार्की, र्‍यान्डम रिडर्स सोसाइटीकी उपाध्यक्ष गौरी तमु, अनेसासकी गण्डकी प्रदेश उपाध्यक्ष दुर्गा न्यौपानेलगायतले शुभकामना दिएका थिए ।

 

प्रकाशित मिति २०८० पुस २८ गते शनिबार ०८:०२
हजुरको प्रतिक्रिया