पाेखरा । गीतकार प्रतिष्ठानकाे अध्यक्षमा गीतकार शीतल गिरी चयन भएका छन् ।
गीतकार प्रतिष्ठान नेपालको शनिवार पोखरामा सम्पन्न तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले गिरीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकाे हाे ।
समितिकाे उपाध्यक्षमा अनुराग अधिकारी, सचिव रुपिन्द्र प्रभावी, कोषाध्यक्ष लाल कार्की ‘अञ्जान’, सहसचिवमा बिर्सना बस्नेत तथा सदस्यहरूमा सावित्री गिरी, जीवनमित्र पण्डित, राजाराम पौडेल, रेशम रचक, हरिमाया पराजुली र आदर्श पोखरेल सर्वसम्मत चयन भएका छन् ।
नेपाली भाषा शिक्षक परिषद् कास्कीका अध्यक्ष डिल्लीराम अर्यालको संयोजकत्वमा विक्रम पौडेल र पुष्पराज पौडेल सदस्य रहेको निर्वाचन मण्डलले नयाँ कार्यसमिति घोषणा गरेको हाे।
कार्यक्रमका अवसरमा प्रतिष्ठानले गीतकार शीतल कादम्बिनीलाई गीतकार सम्मान २०८० समेत प्रदान गरेकाे छ । कादम्बिनीलाई नगद ५ हजार रुपियाँ, सम्मानपत्र र दोसल्लासहित प्रतिष्ठानले सम्मान गरेकाे थियाे ।
कहाँ थियौ तिमी…, झुमा झुम्कावाली…, धेरै चाेटी मरेँ म त धेरै चाेटी बाँचे…लगायत चर्चित गीतका रचनाकार कादम्बिनी गजलकारका रूपमा समेत चर्चित छिन् । उनले नेपाली गीत/गजलका क्षेत्रमा पुर्याएकी योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको संस्थाले जनाएकाे छ ।
प्रकाशित मिति २०८० पुस २८ गते शनिबार ०८:१५




