२०८३ साउन २१ गते बिहीबार

गण्डकीमा जीत पक्का भएको गठबन्धन राष्ट्रिय सभाको लागि मतदाता भेट्दै

गण्डकीमा जीत पक्का भएको गठबन्धन राष्ट्रिय सभाको लागि मतदाता भेट्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० पुस २९ गते आइतबार ०६:२०

माघ २ गतेबाट माघ ९ गतेसम्म मतदाता भेटघाट कार्यक्रम राखिएको हो

कांग्रेस गण्डकी सभापति शुक्रराज शर्माको संयोजकत्वमा प्रचारप्रसार मुल समिति

पाेखरा

सत्तारुढ गठबन्धन दलले गण्डकीमा हुने राष्ट्रिय सभाको चुनावका लागि विभिन्न समिति तथा निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।

राष्ट्रिय सभाको चुनावमा गण्डकीबाट नेपाली कांग्रेसले ३ र नेकपा माओवादीले एक सिट भागबण्डा गरेका छन् ।

नेपाली कांग्रेसबाट अन्यमा कांग्रेस गण्डकी महामन्त्रीसमेत रहेका गोरखाका किरणबाबु श्रेष्ठ, अपांगताबाट तनहुँका पदबहादुर परियार माओवादीका तर्फबाट महिलामा पर्वतकी मनरुपा शर्मा सुवेदीले टिकट हात पारेका छन् ।

गठबन्धन घटक दलले आइतबार पत्रकार सम्मेलन गर्दै समिति र निर्वाचन कार्यक्रम घोषणा गरेको हो । गठबन्धन दलले कांग्रेस गण्डकी सभापति शुक्रराज शर्माको संयोजकत्वमा प्रचारप्रसार मुल समिति बनाएको छ ।

सदस्यमा माओवादीबाट गण्डकी अध्यक्ष गायत्री गुरुङ, एकीकृत समाजवादी गण्डकीका कार्यवाहक अध्यक्ष श्रीनाथ बराल, जनमोर्चाका शंकर बराल, नेपाल समाजवादी पार्टीका गण्डकी अध्यक्ष किरण थापा, कांग्रेस केन्द्रीय सदस्य तथा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, माओवादी संसदीय दल गण्डकीका नेता हरिबहादुर चुमान र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य सदस्य छन् ।

पूर्व सांसद तथा कांग्रेस गण्डकीका महामन्त्री विष्णुप्रसाद लामिछानेको संयोजकत्वमा निर्वाचन व्यवस्थापन उपसमिति गठन भएको छ । गठबन्धन दलले ११ वटै जिल्लामा पुगेर मतदातासँग भेट्ने कार्यतालिका बनाएको छ । माघ २ गतेबाट माघ ९ गतेसम्म मतदाता भेटघाट कार्यक्रम राखिएको हो ।

गण्डकीमा नेपाली कांग्रेसबाट १ सय ७५ जना आकांक्षीमध्ये सबैलाई पछि पार्दै गोरखाका किरणबाबुले टिकट पाएका हुन् । जबकि कास्कीकै शुक्रराज शर्मा र सोभियतबहादुर अधिकारीसम्मको नाम चर्चामा थियो । तर, किरणबाबुले आकांक्षा पार्टीभित्र धेरै राखे पनि निर्णय भइसकेपछि स्वीकारेर चुनावमा जानु नेता कार्यकर्ताको धर्म भएको बताए ।

माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा पालिका प्रमुख तथा उपप्रमुख र प्रदेश सभा सदस्यले मत हाल्ने छन् ।

निर्वाचन आयोगले पालिका प्रमुख उपप्रमुखको १९ र प्रदेश सभा सदस्यको ५३ मतभार तोकेको छ ।

गण्डकीमा मतभारको अंकगणितमा गठबन्धनका उम्मेदवारले जित्ने पक्का देखिएको छ ।

गठबन्धनका पक्षमा ३ हजार ८२७ मतभार छ भने एमालेको २ हजार ४३९ छ । २ जनामात्रै प्रदेश सभा सदस्य भएर पनि उम्मेदवारी दिएको राप्रपाको मतभार १०६ मात्रै छ ।

प्रकाशित मिति २०८० पुस २९ गते आइतबार ०६:२०
हजुरको प्रतिक्रिया