पोखरा
पोखरामा जारी चौथोे टाइगर कप भलिबलमा त्रिभुवन आर्मी क्लबले भारतको हरियाणा टिमलाई ३–२ को सेटमा हराएको छ ।
अत्यन्तै प्रतिस्पर्धापूर्ण बनेको खेलमा आर्मीले आमन्त्रित क्लब हरियाणालाई पराजित गरेको हो ।
महिलातर्फको सोमबारको दोस्रो खेलमा आर्मीले सुरुमा अग्रता लिएको थियो । पहिलो सेटमा आर्मीले २५–२२ ले हरियाणालाई हरायो ।
दोस्रो सेटपछि भने आर्मी पछाडि पर्न थाल्यो । दोस्रो सेटमा आर्मी २५–२० र तेस्रो सेटमा २५–१८ ले लगातार पछाडि रह्यो ।
तर, चौंथो सेटपछि भने आर्मी सम्हालिएको थियो । चौंथो सेटमा आर्मी लयमा फर्किँदै २५–१७ को सहज जित निकाल्यो ।
अन्तिम सेटमा पनि १५–१२ को जित निकाल्दै आर्मीले हरियाणालाई पराजित गरेको हो ।
प्रतियोगितामा भारतको हरियाणा भलिबल टिम पहिलो पटक सहभागी भएको हो ।
उक्त टिमको नेतृत्व भारतको राष्ट्रिय टिमकी कप्तान मिनीमोल अब्राहमले गरेकी छन् ।
महिलातर्फ आजै बिहान भएको पहिलो खेलमा घरेलु टिम गण्डकी प्रदेश विभागीय टिम नेपाल पुलिससँग ३–० को सोझो सेटमा पराजित भएको थियो ।
प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले समान पाँच लाख ५५ हजार ५५५ रुपैयाँ र उपविजेताले २ लाख ५५ हजार ५५५ रुपैयाँ हात पार्नेछन् ।
प्रकाशित मिति २०८० माघ २ गते मंगलबार ०१:१६




