पोखरा
पोखरामा जारी चौंथो संस्करणको टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ उपाधिका लागि विभागीय टिम एपीएफ र चन्द्रागिरि नगरपालिकाको न्यु डायमन्ड स्पोर्टस् क्लब भिड्ने भएका छन् ।
बिहीबार सेमिफाइनलतर्फको दुवै खेल सकिएसँगै डिफेन्डिङ च्याम्पियन एपीएफ र चन्द्रागिरि न्यु डायमन्डले फाइनलमा भेट पक्का गरेका हुन् ।
चन्द्रागिरिले विभागीय टिम नेपाल पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्दैै उपाधि नजिक पुगेको हो ।
न्यु डायमन्डले पुलिसलाई २५–१९, २५–१८ र २५–१८ सेटमा सहज जित निकालेको हो ।
बिहीबार नै भएको सेमिफाइनअन्तर्गत पहिलो खेलमा विभागीय टोली एपीएफले अर्को विभागी टिम त्रिभुवन आर्मी क्लबलाई ३–२ ले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।
लमा पहिलो २ सेट भने आर्मीले अग्रता लिएको थियो ।
तर, पछिल्ला ३ सेट लगातार गुमाउँदै आर्मी सेमिफाइलनबाट बाहिरिन पुगेको हो ।
पहिलो सेमिफाइनल खेलमा त्रिभुवन आर्मीले पहिलो सेट २५–१९ र दोस्रो सेट २५–२० ले आफ्नो पक्षमा पारेको थियो ।
तेस्रो सेटबाट लगातार २५–१२, २५–१६ र १५–१३ ले पछि पर्दै पराजित भएको थियो ।
एपीएफलाई ह्याट्रिक अवसर
टाइगर ग्रुप अफ पोखराको आयोजनामा भइरहेको टाइगर कपको चौंथो संस्करणको फाइनलमा पुगेको विभागीय टोली एपीएफ साविक विजेता पनि हो ।
तेस्रो संस्करणको फाइनलमा एपीएफले अर्को विभागीय टिम नेपाल आर्मीलाई ३–१ को सेटमा हराउँदै विजेता बनेको थियो ।
एउटा विदेशीसहित ६ टिम सहभागी भएको प्रतियोगितामा एपीएफ समूह ‘ए’अन्तर्गत समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो ।
यसपटक पनि एपीएफले उपाधि रक्षा गरेमा टाइगर कपमा ह्याट्रिक विजय हासिल गर्नेछ ।
त्यसअघि एपीएफले टाइगर कपको पहिलो संस्करणको फाइनलसम्म पुगेर पनि उपविजेतामै सीमित हुनु परेको थियो ।
पहिलो संस्करणमा एपीएफले नेपाल पुलिससँग ३–० को सोझो सेटमा पराजित भएको थियो ।
चन्द्रागिरि नगरपालिकाको न्यु डायमन्ड स्पोर्टस् क्लब भने पहिलो पटक फाइनल यात्रा तय गरेको हो ।
टाइगर कपको फाइनल खेल माघ ६ गते हुनेछ ।
प्रतियोगितामा महिला, पुरुष दुवैतर्फ विजेताले समान ५ लाख ५५ हजार ५५५ र उपविजेताले २ लाख ५५ हजार ५५५ रुपैयाँ हात पार्नेछन् ।
महिलातर्फको प्रतियोगितामा भारतको हरियाणा क्लब पनि पहिलो पटक सहभागी भएको थियो ।
भारतको राष्ट्रिय महिला भलिबल टिमको कप्तान मिनिमोल अब्राहमले सम्हालेकी थिइन् ।
तर, उक्त टिमले अंकविहीन हुँदै समूह चरणबाटै बाहिरिइसकेको छ ।
आयोजकको तर्फबाट खेलेको गण्डकी प्रदेश महिला भलिबल संघ पनि जितविहीन रहँदै समूह चरणबाटै बाहिरिएको थियो ।
राष्ट्रिय महिला भलिबल टोली कप्तान अरुणा शाहीले सम्हालेको टिममा ३ जना भारतका राष्ट्रिय टिमका खेलाडी सहभागी थिए ।
प्रकाशित मिति २०८० माघ ४ गते बिहीबार ०२:०५




